सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थापना दिवसमा चैतन्य पाठशालाद्वारा आमाको माया छात्रावासलाई स्टेशनरी तथा खाद्यान्न सहयोग

२०८३ जेठ १९, ११:१९

धनगढीः शिक्षा र संस्कारलाई सँगसँगै अघि बढाउँदै आएको चैतन्य पाठशालाले आफ्नो २६औँ स्थापना दिवस सामाजिक उत्तरदायित्वसहित मनाएको छ। स्थापना दिवसको अवसरमा विद्यालयले धनगढीस्थित जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासमा आश्रित बालबालिकाका लागि स्टेशनरी सामग्री तथा खाद्यान्न वितरण गरेको हो।

विद्यालयले समाजप्रतिको दायित्व केवल गुणस्तरीय शिक्षा प्रदान गर्नु मात्र नभई मानवीय संवेदना, सहयोग र सेवाको भावना विकास गर्नु पनि रहेको विश्वासका साथ कार्यक्रम आयोजना गरिएको जनाएको छ। स्थापना दिवसका अवसरमा विद्यालयका शिक्षक, कर्मचारी तथा कक्षा १० का विद्यार्थीहरूको उपस्थितिमा छात्रावास पुगेर आवश्यक शैक्षिक तथा खाद्य सामग्री हस्तान्तरण गरिएको थियो।

यस अवसरमा विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट संकलित रकमसमेत सहयोगस्वरूप प्रदान गरेका थिए। साथै अभिभावक ज्ञानु रोकायाले पनि सहयोग गरेको विद्यालयले जनाएको छ। यस्ता सहयोगात्मक कार्यक्रमले बालबालिकाको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्नुका साथै सामाजिक सद्भाव र मानवीय सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

चैतन्य पाठशालाले विगत २६ वर्षदेखि शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले संस्थाको सफलताको आधार समाज, अभिभावक र विद्यार्थीहरूको विश्वास रहेको बताए। उनले शिक्षासँगै सामाजिक उत्तरदायित्वलाई विद्यालयले प्रमुख कर्तव्यका रूपमा लिँदै आएको र आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

चैतन्य पाठशालाबाट प्राप्त सहयोगले दैनिक आवश्यकताको पूर्तिमा सहयोग पुग्नुका साथै समाजले साथ दिएको अनुभूति भएको आमाको माया छात्रावास प्रमुख सुवास तामाङले बताए।

स्थापना दिवसका अवसरमा गरिएको यस सहयोगात्मक कार्यक्रमले चैतन्य पाठशालाको सामाजिक प्रतिबद्धता, मानवीय संवेदना र सेवामूलक सोचलाई पुनः उजागर गरेको छ। विद्यालयले आगामी दिनमा पनि शिक्षा र संस्कारलाई केन्द्रमा राख्दै समाजमुखी गतिविधिहरूलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।

कमेन्ट लोड गर्नुस