सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी हुन् मुख्यमन्त्री शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने काँग्रेस सांसद

२०८३ जेठ १९, ०३:५१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध अन्ततः अविश्वास प्रस्ताव दर्ता भएको छ। लामो समयदेखि शाहको राजीनामा माग्दै आएका उनकै पार्टीका प्रदेशसभा सदस्यहरूले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

कांग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवानसिंह बिष्टका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेसका १८ सांसदमध्ये नौ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको छ। कांग्रेस सांसद प्रकाशबहादुर देउवा भने लामो समयदेखि नेपालबाहिर रहेका कारण हस्ताक्षर प्रक्रियामा सहभागी नभएको बताइएको छ।

मुख्यमन्त्री शाहविरुद्धको अविश्वास प्रस्ताव दर्ता गर्न ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बैठक बसेको थियो। प्रस्तावमा दिवानसिंह बिष्ट, मानबहादुर रावल, प्रमुख सचेतक गीता चौधरी, प्रदेशसभा सदस्यहरू तुलसी देवकोटा, डम्मरी महरा, पदमबहादुर शाही, बेलबहादुर राना मगर, ललिता सुनार र जुनाकुमारी दानीको हस्ताक्षर रहेको छ।

सांसदहरूले जेठ ८ गतेदेखि नै शाहविरुद्ध हस्ताक्षर संकलन सुरु गरेका थिए। आवश्यक संख्या पुगेपछि अविश्वास प्रस्ताव औपचारिक रूपमा दर्ता गरिएको हो।

कांग्रेसभित्र मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने परम्परा रहेकाले अविश्वास प्रस्तावले प्रदेश सरकारको नेतृत्व परिवर्तनको सम्भावना थप बलियो बनाएको छ।

कमेन्ट लोड गर्नुस