सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन पैदावरको उपयोग: दुनाटपरीले आत्मनिर्भर

२०८३ जेठ २०, १२:०५ रासस

घोडाघोडी (कैलाली): लम्कीचुहा नगरपालिका–१ भुरुवाकी धना बोहराको जीवन केही वर्षअघिसम्म सामान्य ग्रामीण महिलाको जस्तै थियो। उनको अधिकांश समय घरधन्दा, बालबच्चाको हेरचाहमा बित्थ्यो। 

श्रीमान्को एकल आम्दानीमा आश्रित परिवार आर्थिक रूपमा सङ्घर्षरत थियो। दैनिक आवश्यकता पूरा गर्न कठिन थियो। सीमित आम्दानी, बढ्दो खर्च र भविष्यप्रतिको अनिश्चितताले परिवारलाई निरन्तर दबाब थियो। 

चार वर्षअघि एउटा सीपमूलक तालिमले बोहराको जीवनलाई अघि बढाउने मार्ग नै बदलिदियो। स्थानीय सरकारले सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा सहभागी भएपछि उनले आफ्नो क्षमता पहिचान गर्ने अवसर पाए। तालिमपछि नगरपालिकाले पनि मेसिन उपलब्ध गरायो । उनले ‘सृजनशील दुनाटपरी उद्योग’स्थापना गरे। सुरुमा सानो प्रयासका रूपमा सुरु भएको उद्योग आज स्थानीयस्तरमा सफल उद्यमको उदाहरण बनेको छ।

बोहराको उद्योगमा अहिले आठ जना स्थानीय महिलाले नियमित रोजगारी पाइरहेका छन्। बिहान जङ्गलबाट सालको पात सङ्कलन गर्ने र दिउँसो उद्योगमा दुनाटपरी उत्पादन गर्ने उहाँको दैनिकी बनेको छ। उद्योगबाट दैनिक हजारभन्दा बढी दुनाटपरी उत्पादन हुने गरेको छ। दसैँ, तिहार, माघेसङ्क्रान्ति, श्राद्ध, पूजाआजा, मेला तथा थारू समुदायका विवाह समारोहमा यसको माग अत्यधिक हुने गरेको छ। 

कतिपय विवाहमा १० हजारभन्दा बढी दुनाटपरी आवश्यकपर्ने भएकाले मागअनुसार उत्पादन गर्न कठिन हुने अवस्था भएको बोहराले बताए।
    
धनाको जीवनमा आएको परिवर्तन केबल व्यक्तिगत सफलता होइन। यो वन पैदवारको सदुपयोगले ग्रामीण समाजमा ल्याएको आर्थिक तथा सामाजिक रूपान्तरणको प्रतिनिधि उदाहरण हो। उनीजस्ता सयौँ उद्यमीले वनमा आधारित व्यवसायमार्फत आफ्नो जीवनस्तर उकासिरहेका छन्। स्थानीय समुदायमा रोजगारी र आत्मनिर्भरताको आधार निर्माण गरिरहेका छन्।

रोजगारी, आय र आत्मनिर्भरता

वन पैदावर उद्योगको सबैभन्दा सकारात्मक प्रभाव ग्रामीण महिलाको जीवनमा देखिएको छ। परम्परागत रूपमा घरधन्दामै सीमित रहने महिला अहिले उत्पादन, व्यवस्थापन र उद्यमशीलताका क्षेत्रमा सक्रिय बन्दै गएका छन्।

विशेषगरी एकल महिला, विपन्न परिवार तथा सीमित अवसर भएका महिलाका लागि यस्ता उद्योग जीवन परिवर्तन गर्ने माध्यम बनेका छन्। बोहराको उद्योगमा रोजगारी प्राप्त गरिरहनुभएकी रङ्गा उपाध्याय एकल महिला छन्। श्रीमान् नहुँदा सन्तानको जिम्मेवारी सम्हाल्न कठिन भइरहेका बेला आफ्नै कमाइले घर खर्च चलाउन सहज भएको उनले बताए।

पहिले धेरै महिला आर्थिक रूपमा परिवारमा पूर्ण रूपमा निर्भर थिए। अहिले उनीहरूले आफ्नै कमाई गर्न थालेपछि परिवारको आर्थिक अवस्था सुधारिएको छ। बालबालिकाको शिक्षा, स्वास्थ्य तथा दैनिक आवश्यकता पूरा गर्न सहज भएको छ। दुनाटपरी उद्योग मात्र होइन, बाँस र बेतमा आधारित उद्योगमा महिलाको सहभागिता छ। हस्तकला, सजावटी सामग्री तथा घरायसी प्रयोगका सामग्री उत्पादनमा महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

कैलालीको टीकापुरस्थित तिलगङ्गा बेत–बाँस फर्निचर उद्योगमा कार्यरत हिराकुमारी चौधरी बेतबाट विभिन्न सामग्री बनाउछन्। उनका अनुसार यस कामबाट दैनिक रु ८०० देखि एकहजारसम्म आम्दानी हुने गरेको छ। पहिले घरखर्च व्यवस्थापन गर्न कठिन हुने गरे पनि अहिले आफ्नै कमाइले ऋणको ब्याज तिर्न, बालबालिकालाई विद्यालयका लागि खाजा खर्च दिन तथा अन्य खर्च जुटाउन सहज भएको उनले बताए।

उद्योगमै कार्यरत मिना चौधरी मुडा, फूलदानी, र्‍याकलगायत सामग्री निर्माण गर्छन्। घरायसी जिम्मेवारीसँगै आम्दानीको अवसर पाउँदा परिवारको आर्थिक अवस्थामा सुधार आएको उनको अनुभव छ। घरसँगै उद्योगमा काम गर्न मिल्ने भएकाले घरखर्च चलाउन तथा परिवारको आवश्यकता पूरा गर्न सहज भएको उनले बताए। उद्योगमा ५० भन्दा धेरै कामदार छन्, जसमध्ये धेरैजसो महिला छन्। 

वनजन्य उद्योगमा महिलाको बढ्दो सहभागिताले उनीहरूलाई आर्थिक रूपमा मात्र होइन, सामाजिक रूपमा पनि सशक्त बनाएको छ। आफ्नै सीप र श्रमबाट आम्दानी गर्न थालेपछि महिलामा आत्मविश्वास बढेको छ। परिवार र समाजमा उहाँको भूमिका अझ प्रभावकारी बन्दै गएको छ। गाउँमै उपलब्ध स्रोत र सीपको उपयोग गरेर सञ्चालन भइरहेका यस्ता उद्योगले महिलाको आत्मनिर्भरता र ग्रामीण आर्थिक विकासलाई एकसाथ अगाडि बढाइरहेका छन्।

सुदूरपश्चिम प्रदेशमा वनजन्य उद्योग पछिल्ला वर्षमा ग्रामीण अर्थतन्त्रका महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएका छन्। वनबाट प्राप्त हुने कच्चापदार्थको उपयोग गरेर सञ्चालन भइरहेका विभिन्न उद्योगले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुका साथै आम्दानीका नयाँ अवसर पनि प्रदान गरिरहेका छन्।

परम्परागत सीपदेखि आधुनिक बजारसम्म बेत र निगालोमा आधारित उद्योगले परम्परागत सीपलाई आधुनिक बजारसँग जोडिरहेका छन्। पहिले घरायसी प्रयोगमा सीमित रहने बाँस र बेतका सामग्री अहिले सहरका होटल तथा रेस्टुरेन्टसम्म पुग्न थालेका छन्।

डोको, नाङ्लो, टोकरीजस्ता परम्परागत सामग्रीसँगै कुर्सी, टेबल, सोफा, सजावटी सामग्री तथा विभिन्न हस्तकलाका वस्तु उत्पादन भइरहेका छन्। प्राकृतिक, वातावरणमैत्री र आकर्षक डिजाइनका कारण यस्ता सामग्रीको माग निरन्तर बढिरहेको तिलगङ्गा बेत–बाँस फर्निचर उद्योगका सञ्चालक भरतलाल विकले बताए।

बेतसँगै काठमा आधारित उद्योग पनि प्रदेशको अर्थतन्त्रका महत्वपूर्ण हिस्सा बनेका छन्। कैलाली र कञ्चनपुरमा सञ्चालन भइरहेका फर्निचर उद्योगले साल, सिसौ, असना र हल्दुजस्ता काठको उपयोग गरेर आधुनिक तथा परम्परागत डिजाइनका फर्निचर उत्पादन गरिरहेका छन्।

यस्ता उद्योगले स्थानीय कालीगढको सीपलाई व्यावसायिक अवसरमा रूपान्तरण गरेका छन्। काठ प्रशोधन, डिजाइन, निर्माण तथा बिक्रीवितरणका विभिन्न चरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ। मागका हिसाबले यस क्षेत्रमा अझै ठूलो सम्भावना रहेको आकाश फर्निचर उद्योगका सञ्चालक सनम दत्त राजवंशीले बताए।

उनले भने, “कच्चापदार्थको सहज उपलब्धता र स्थिर बजार भए उद्योगलाई अझ विस्तार गर्न सकिन्छ।” वनजन्य उद्योगको अर्को मत्वपूर्ण क्षेत्र कत्था उद्योग हो। खयरको काठबाट उत्पादन हुने कत्थाले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याइरहेको छ। कत्था उद्योगले वनजन्य स्रोतको मूल्य अभिवृद्धि गरेर विदेशी मुद्रा आर्जनमा योगदान दिएको छ। खयर सङ्कलनदेखि प्रशोधन र निर्यातसम्मका गतिविधिमा धेरै स्थानीय नागरिकको जीविकोपार्जन जोडिएको कैलालीको गेटास्थित लक्ष्मी कत्था उद्योगका सञ्चालक रोशन कर्णले बताए।

मध्यपहाडी क्षेत्रमा पाइने खोटेसल्लाबाट सङ्कलन गरिने खोटोले आर्थिक गतिविधिलाई चलायमान बनाएको छ। 
    
सुदूरपश्चिमका मध्यपहाडी जिल्लामा पाइने खोटेसल्लाबाट खोटो सङ्कलन गरी प्रशोधन र निर्यातसमेत भइरहेको छ। प्रदेशका डडेलधुरा, डोटी, कैलालीलगायत जिल्लाबाट वार्षिक एक हजार ५०० मेट्रिकटनभन्दा बढी खोटो सङ्कलन हुने गरेको कैलालीको अत्तरियास्थित दिव्या रोजिन एण्ड टर्पेन्टाइन कम्पनीका सञ्चालक खड्क बमले बताए। उनका अनुसार खोटो सङ्कलन र प्रशोधनले ग्रामीण क्षेत्रमा थप रोजगारीसमेत सिर्जना गरेको छ।

सम्भावना ठुलो, चुनौती अझै बाँकी

सुदूरपश्चिमका पहाडी जिल्ला जडीबुटीको दृष्टिले अत्यन्तै समृद्ध मानिन्छन्। दार्चुला, बैतडी, बझाङ, बाजुरालगायत जिल्लाका वन क्षेत्रमा पाइने यार्सागुम्बा, चिराइतो, सतुवा, वनलसुन, टिमुर, तेजपात, अमला तथा रिट्ठाजस्ता उत्पादनको राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा उच्च माग छ। हजारौँ परिवारको आम्दानीको स्रोत बनेका यी जडीबुटीले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन।

जडीबुटी मात्र होइन, बाँस–बेत, काठ, खोटो, कत्था तथा दुना–टपरीमा आधारित उद्योगहरूले पनि विभिन्न चुनौती सामना गरिरहेका छन्। कच्चापदार्थको दिगो व्यवस्थापन, आधुनिक प्रविधि तथा उपकरणको अभाव, प्रशोधन उद्योगको कमी, बजार विस्तार र उत्पादनको बजारीकरणजस्ता विषय अझै चुनौतीका रूपमा रहेका छन्। 

अधिकांश जडीबुटी तथा अन्य वनजन्य उत्पादन अझै पनि कच्चा रूपमै बिक्री हुने गरेका छन्। बझाङका जडीबुटी सङ्कलक राम्पस बोहराले भने, “पहिलेजस्तो मूल्य नै पाइँदैन।” उचित मूल्य नपाउँदा वनजन्य स्रोतमा निर्भर धेरै परिवारले अपेक्षित लाभ लिन सकेका छैनन्। 

जडीबुटी व्यवसायी राजेन्द्र धामीका अनुसार यस क्षेत्रमा ठुलो सम्भावना भए पनि पर्याप्त प्रशोधन उद्योग, भण्डारण सुविधा र बजार सूचनाको अभावले सङ्कलक तथा व्यवसायीले उचित लाभ लिन सकेका छैनन्। उनले भने, “अधिकांश कच्चा जडीबुटी भारत र चीनमा सस्तो मूल्यमा निर्यात गर्नुपर्ने बाध्यता अझै कायम छ।”
 
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार स्थानीय स्रोत र सीपको उपयोग गर्दै सञ्चालन भइरहेका यस्ता उद्योगले ग्रामीण अर्थतन्त्रलाई सुदृढ तुल्याइरहेको छ। वन पैदावरमा आधारित उद्योगको दिगो विकासका लागि नीतिगत सुधार, पूर्वाधार निर्माण, सीप विकास तथा बजार विस्तारमा सरकारले काम गरिरहेको छ।

कमेन्ट लोड गर्नुस