ब्याण्डबाजामा भविष्य खोज्दै तन्नेरी
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–३ का जागरिला तन्नेरीहरु यतिबेला ब्याण्डबाजा बजाउने सीप सिक्न व्यस्त छन्।
गाउँमा १० जनाको ब्याण्डबाजा समूह सञ्चालन गरेर सीप सिक्न थालेका तन्नेरीले आफ्नै लगानीमा ट्रम्पेट, क्लारिनेट, स्याक्सोफोन, ड्रमलगायतका बाजा खरिद गरी सीप सिक्न प्रशिक्षकको व्यवस्था गरेका छन्।
विवाह तथा अन्य शुभकार्यमा बाजाको महत्व र आश्यकता बढ्दै गएकाले तन्नेरी सीप सिक्न लागि परेका हुन्। समूहका सदस्य वासुदेव चौधरीले ब्याण्डबाजा आयआर्जनका माध्यम रहेको बताए।
बाजा विवाहमा जन्ती प्रस्थान गर्दा, बेहुलाबेहुलीको स्वागत गर्दा, धार्मिक शोभायात्रा तथा विभिन्न सांस्कृतिक कार्यक्रममा प्रयोग हुँदै आएको छ।
शुक्लाफाँटा–३ मा ब्याण्डबाजा बजाएर आम्दानी गर्ने परम्परा भने नयाँ होइन। सोही वडाका मङ्गलबहादुर चौधरी नेतृत्वको समूहले करिब एक दशकदेखि विवाह तथा अन्य समारोहमा ब्याण्डबाजा बजाउँदै आएका थिए।
उनका अनुसार एक विवाह समारोहमा बाजा बजाएर रु २० हजारदेखि रु ३० हजारसम्म आम्दानी हुने गरेको छ।
ब्याण्डबाजा क्षेत्रमा सफलता हासिल गर्न निरन्तर अभ्यास आवश्यक छ। गीतको धुन निकाल्नसक्ने भएपछि माग बढ्छ र आम्दानी पनि त्यहीअनुसार हुन्छ।
शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले तन्नेरीहरुले आफ्नै लगानीमा सीप सिक्न थालेको कायलाई प्रशंसनीय रहेको बताए।
गाउँघरमा वैदेशिक रोजगारीतर्फ आकर्षण बढिरहेका बेला ब्याण्डबाजा जस्तो परम्परागत पेसाले स्थानीयस्तरमै आम्दानीको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।