सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम काँग्रेस विवाद टुंगियो, असन्तुष्ट पक्षलाई दुई मन्त्री र एक राज्यमन्त्री

२०८३ जेठ २३, ०९:३९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारभित्र नेपाली काँग्रेसमा देखिएको शक्ति संघर्ष अन्ततः सहमतिमार्फत टुंगिएको छ। सहमतिसँगै मुख्यमन्त्री कमलबहादुर शाहले संसदीय दलको नेता तथा मुख्यमन्त्री पदमा निरन्तरता पाउने भएका छन्।

स्रोतका अनुसार शाहविरुद्ध सक्रिय असन्तुष्ट पक्षलाई सरकारमा दुई मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी दिने समझदारी भएको छ। मुख्यमन्त्री पक्षका तर्फबाट प्रमुख सचेतक विक्रम धामी, बहादुरसिंह थापा र प्रकाश बमले वार्ताको नेतृत्व गरेका थिए।

हाल सुदूरपश्चिम सरकारमा काँग्रेसको भागमा मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री छन्। नयाँ सहमतिअनुसार असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने मुख्यमन्त्रीसहित एक मन्त्री र एक राज्यमन्त्री शाह पक्षमै रहनेछन्।

यद्यपि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा अन्तिम निर्णय गर्ने अधिकार मुख्यमन्त्री शाहमै रहने सहमति भएको वार्ता स्रोतले जनाएको छ।

काँग्रेसभित्रको विवाद समाधानका लागि पार्टीका केन्द्रीय सहमहामन्त्री उदय शमशेर राणा र केन्द्रीय सदस्य राजन केसीले सक्रिय पहल गरेका थिए। मुख्यमन्त्री शाहले यसअघि नै मन्त्रालय हेरफेरमार्फत मध्यमार्गी समाधानको प्रस्ताव अघि सारेका थिए। तर उक्त प्रस्ताव असन्तुष्ट पक्षले तत्काल स्वीकार गरेको थिएन।

शुक्रबार धनगढीस्थित होटल रूवसमा भएको छलफलपछि भने दुवै पक्षबीच सहमति जुटेको बताइएको छ। यससँगै केही समयदेखि चर्किएको काँग्रेसभित्रको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ।

कमेन्ट लोड गर्नुस