दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा
चितवन :दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ । कात्तिक लागेपछि बिदाका दिनबाहेक नियमित रूपमा दूध आउन थालेसँगै उद्योगले प्रशोधन सुरु गरेको छ ।
उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार भदौ र असोजमा केही दिन आंशिक रूपमा सञ्चालन भएको उद्योगमा कात्तिकदेखि दूधको आपूर्ति बढेको हो । हाल दैनिक ५० देखि ६० हजार लिटर दूध प्रशोधनका लागि आउने गरेको उनले बताए । विगतका वर्षमा दैनिक ८० देखि ९० हजार लिटरसम्म दूध आउने गरेको थियो ।
गत वर्ष दूध अभावका कारण उद्योग तीन महिना मात्र बन्द भएको थियो । यस वर्ष भारतीय सीमावर्ती क्षेत्रबाट आउने दूध रोकिएपछि अभाव भएको प्रबन्धक पराजुलीले बताए । सहकारी र डेरीले सङ्कलन गरेको दूध सीधै बिक्री गर्न पाएपछि प्रशोधनका लागि उद्योगमा ल्याउन छाडेका कारण पनि आपूर्ति घटेको उनको भनाइ छ ।
किसानबाट सङ्कलित दूध बिक्री नभएपछि सहकारी र डेरीले बचत दूध उद्योगमा ल्याएर प्रशोधन गराउने गरेका छन् । उनीहरूले दूध प्रशोधन गरी धुलो दूध र नौनी उत्पादन गर्दै आएका छन् । दूध आउन छाडेपछि उद्योगले आफैँ दूध खरिद गरेर सञ्चालन गर्ने तयारी गरे पनि पर्याप्त दूध नपाउँदा त्यो सम्भव नभएको पराजुलीले बताए ।
उनका अनुसार अहिले चितवन, मकवानपुर, नवलपरासी, रुपन्देही र सर्लाहीलगायत जिल्लाबाट दूध आउन थालेको छ । गत वर्ष बिक्री नभएपछि डेरी र सहकारीले उद्योगमा प्रशोधनका लागि ल्याएका नौनी, घ्यू र धुलो दूध अहिले लगिसकेका छन् । ती उत्पादन थन्किएर उद्योगका भण्डारणस्थल भरिएका थिए । अहिले भण्डारणस्थल खाली भएका छन् ।
भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उक्त उद्योगले विसं २०७५ देखि डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्दै आएको छ । उद्योगले प्रतिलिटर दूधबाट धुलो दूध बनाउँदा रु ११३ र प्रतिकिलो नौनी ९बटर० प्रशोधन गर्दा रु ५५ शुल्क लिने गरेको छ ।
विसं २०६४ मा स्थापना भएको उद्योग विसं २०७२ को भूकम्पपछि बन्द भएको थियो । बन्द हुनुअघि उद्योग आफैँले दूध खरिद गरी प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको प्रबन्धक पराजुलीले बताए ।