सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एनडब्लुए कलेजमा निःशुल्क पोखरा विश्वविद्यालय छात्रवृत्ति प्रवेश परीक्षा तयारी कक्षा सुरू

२०८३ जेठ २६, ०२:४७ खबर संवाददाता

धनगढीः विगत केही वर्षदेखि धनगढी–२ स्थित एनडब्लुए कलेजमा निःशुल्क पोखरा विश्वविद्यालय छात्रवृत्ति प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन हुँदै आएको छ। यस वर्ष पनि उक्त तयारी कक्षा जेठ २५ गते बिहान ९ बजेदेखि पुनः सुरु भइसकेको छ।

पोखरा विश्वविद्यालयको छात्रवृत्ति परीक्षामा विद्यार्थीहरूलाई सफल बनाउने उद्देश्य तथा सामाजिक उत्तरदायित्वको भावनासहित यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको कलेजका शैक्षिक निर्देशक भीमबहादुर चौधरीले जानकारी दिए। उनका अनुसार आर्थिक रूपमा कमजोर तर प्रतिभावान विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याउने लक्ष्यका साथ कलेजले यो तयारी कक्षा निरन्तर सञ्चालन गर्दै आएको हो।

तयारी कक्षाले विगतका वर्षहरूमा उत्कृष्ट नतिजा दिँदै आएको बताइएको छ। अनुभवी प्रशिक्षकहरूद्वारा सञ्चालन हुने कक्षामा छात्रवृत्ति परीक्षामा सोधिने विषयवस्तु, प्रश्न समाधान गर्ने विधि, नमुना परीक्षा, समय व्यवस्थापन तथा परीक्षा रणनीतिबारे विशेष प्रशिक्षण प्रदान गरिने कलेजले जनाएको छ।

गत वर्षको छात्रवृत्ति प्रवेश परीक्षामा सफल भएका विद्यार्थीहरूमा प्रकाश ढाँट, तुलसी भट्ट, रन्जु गिरी, कामना दाहाल, उर्मिला जोशी, दिनेश जोशी, भुवन कडायत, सिमरन चौधरी, दिनेश सिंह, युवराज विश्वकर्मा, परमेश चौधरी, अनिश चौधरी तथा यशोदा बोगटी रहेका छन्। उनीहरूको सफलताले यस तयारी कक्षाको प्रभावकारिता प्रमाणित गरेको चौधरीको भनाइ छ।

आर्थिक रूपमा छात्रवृत्ति प्राप्त गरी उच्च शिक्षा अध्ययन गर्ने लक्ष्य राखेका विद्यार्थीहरूका लागि यो तयारी कक्षा अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ। नियमित अभ्यास, उचित मार्गदर्शन र प्रतिस्पर्धात्मक वातावरणका कारण विद्यार्थीहरूले छात्रवृत्ति परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न सक्ने अपेक्षा गरिएको छ।

कलेज प्रशासनले पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्ति प्राप्त गर्ने लक्ष्य राखेका इच्छुक विद्यार्थीहरूलाई समयमै नाम दर्ता गरी यस निःशुल्क छात्रवृत्ति प्रवेश परीक्षा तयारी कक्षाबाट अधिकतम लाभ लिन आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस