सीमा क्षेत्रबाट अवैध पटाखासहित दुई जना पक्राउ, विस्फोटक ऐनअन्तर्गत मुद्दा दर्ता
धनगढीः नेपाल-भारत सीमामा तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सञ्चालन भइरहेको अभियानका क्रममा भारतको खीरी जिल्लास्थित गौरीफन्टा प्रहरीले अवैध पटाखासहित दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख ख्याति गर्गको नेतृत्वमा तथा अतिरिक्त प्रहरी अधीक्षक (पश्चिमी) खीरी र क्षेत्राधिकारी पलियाको निर्देशनमा गरिएको विशेष चेकिङका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गौरीफन्टा थानाको टोलीले रात्री गस्ती तथा चेकिङका क्रममा कवच आउटपोस्ट सूडाबाट मोहना नदी घाटतर्फ जाने कच्ची सडकमा शंकास्पद रूपमा नेपालतर्फ लैजाँदै गरिएको पटाखा बरामद गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुगेडा कटान निवासी योगेश राना र विनोद राना रहेका छन्। उनीहरूबाट ६० शट्सका ३ प्याकेट र ३० शट्सका ४ प्याकेट अवैध पटाखा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामानसहित दुवै जनाविरुद्ध विस्फोटक पदार्थसम्बन्धी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।