नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्याउनुपर्ने
काठमाडौँ: यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीका कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिबाट स्वीकृत पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म कात्तिक २ गते पनि दशैँघर वा पूजाकोठामा दोहोर्याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो।
कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि धार्मिक विधिअनुसार आठौँ दिन गरिने कर्म नै दोहोर्याउनुपर्ने उहाँले बताउनुभयो। त्यस दिन नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधना गर्नुपर्नेछ। महाअष्टमीका अन्य कर्मसमेत दोहोर्याउनुपर्ने उहाँको भनाइ छ।
आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै राति गर्नुपर्ने समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ। अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्र दस दिनको भएको छ। विजयादशमीका दिन टीका लगाउँदा दस रात्रिका जमरा लगाइनेछ। देवीको साधना, पूजा तथा आराधना गर्न एक दिन थपिँदैमा धार्मिक दृष्टिले कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।
हनुमानढोकामा सोमबार राति कालरात्रि पूजा
राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीको परम्पराअनुसार कात्तिक २ गते सोमबार राति गरिने भएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले राष्ट्रिय समाचार समिति (रासस) लाई यसबारे जानकारी दिनुभएको हो।
हनुमानढोका दरबारमा महाअष्टमीका कर्म सम्पन्न गरेपछि भोलिपल्ट महानवमीको पूजा–आराधनालगायत धार्मिक विधि गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो।
दरबार हेरचाह अड्डाका अनुसार कात्तिक १ गते आइतबार हनुमानढोका दरबारको दशैँघरमा महाअष्टमीको सामान्य पूजा गरिएको थियो। मुख्य पूजा भने सोमबार गरिनेछ।
महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशुको बलिसहित पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।