बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
काठमाण्डौ :लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ । यो सँगै सरकारी निकायले यसको अनुगमन शुरु गरेको छ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो । त्यसयता कपडा उद्योग फेरि सञ्चालनमा ल्याउन पटकपटक प्रयास भएपनि प्रयासले सार्थकता पाउन सकेको थिएन ।
यसवर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुुगमनसँगै सक्रियता बढाइएको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए।
त्यसयता समयसमयमा यसको सञ्चालनको प्रयास भने भइरहेको उनले जानकारी दिए । कपडा उद्योग पुनः तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँदै सूचना अधिकारी भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिए।
हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको बताउँदै उनले यसबीचमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत अनुगमन गरेकाे बताए।
त्यस्तै उद्योगको हेटौँडा उपमहानगर मेयर मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि स्थलगत निरीक्षणसँगै जानकारी लिएको उनले बताए ।
मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सरकारले हेटौँडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताएका थिए। कपडा उद्योग बन्द भएसँगै उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी सुरक्षा बल १४ नम्बर गण बस्दै आएको छ ।