टीकापुर उद्योग वाणिज्य संघको एक करोड ३७ लाख बढीको आयव्यय सार्वजनिक
धनगढी: टीकापुर उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०८२/०८३ को एक करोड ३७ लाख रुपैयाँभन्दा बढीको आयव्यय विवरण सार्वजनिक गरेको छ। संघको २७औँ वार्षिक साधारणसभामा प्रस्तुत विवरणअनुसार संघसँग ६३ लाख ८० हजार रुपैयाँ नगद मौज्दात रहेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ५१ लाख ७६ हजार रुपैयाँ नगद मौज्दात रहेकोमा यसवर्ष बढेर ६३ लाख ८० हजार रुपैयाँ पुगेको हो।
संघले आयोजना गरेको टीकापुर महोत्सव २०८२ बाट एक करोड २५ लाख १३ हजार रुपैयाँ आम्दानी गरेको छ। महोत्सवबाट २६ लाख १६ हजार रुपैयाँ बचत भएको छ भने दुई लाख २६ हजार रुपैयाँ उठ्न बाँकी रहेको विवरणमा उल्लेख छ।
महोत्सव सञ्चालनका क्रममा सबैभन्दा बढी कलाकारका लागि ३२ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ। अतिथि भोजनमा १३ लाख ४८ हजार रुपैयाँ तथा यातायात, इन्धन र हवाई टिकटमा पाँच लाख ४५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
साधारणसभाको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले संघीय कानुन निर्माण नहुँदा प्रदेश सरकारले विकास तथा औद्योगिक क्षेत्रका अपेक्षित काम गर्न नसकेको बताए। उद्योग स्थापना गर्न चाहने लगानीकर्तालाई कर तथा विद्युत्मा सहुलियत दिन र उद्योगका लागि जग्गा उपलब्ध गराउनसमेत कानुनी जटिलता रहेको उनको भनाइ थियो।
मन्त्री भाटले निजी क्षेत्रलाई बलियो बनाउने गरी नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै उद्योगी तथा व्यवसायीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। दोधारा चाँदनी सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिमको आर्थिक तथा औद्योगिक विकासले गति लिने विश्वास व्यक्त गरे।
प्रदेश सरकारको बजेटमा रहेका त्रुटि स्वीकार गर्दै योजना बैंक निर्माण र योजना छनोटका मापदण्ड तयार गर्ने काम भइरहेको उनले जानकारी दिए। बजेट कार्यान्वयनका क्रममा देखिने समस्या पनि सुधार गर्दै जाने उनको भनाइ थियो।
कार्यक्रममा पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीले प्रदेश सरकारले गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाए। प्रदेशसभा सदस्य ललिता सुनारले उद्योगी तथा व्यवसायी विभिन्न समस्याबाट प्रभावित भइरहेको बताइन्।
साधारणसभाको अवसरमा टीकापुर उद्योग वाणिज्य संघले अग्रज व्यवसायी गंगाराम चपाईलाई खड्ग स्मृति सम्मानबाट सम्मानित गरेको छ।
टीकापुरको स्थापना कालदेखि चार चौतारी रेडिमेड सेन्टर सञ्चालन गर्दै आएका चपाई संघका पूर्वकोषाध्यक्षसमेत हुन्।
यसैगरी संघले सामुदायिक विद्यालयमा अध्ययनरत चार जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। छात्रवृत्ति प्राप्त गर्नेमा अनुष्का चौधरी, आयुष चौधरी, सुपेज्ञा चौधरी र राधिका चौधरी रहेका छन्। उनीहरूलाई जनही पाँच हजार पाँच रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी अध्ययनरत चारवटै विद्यालयलाई समेत प्रमाणपत्रसहित सम्मान गरिएको संघले जनाएको छ।
संघका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष दीपेन्द्र रावलले गरेका थिए भने सञ्चालन महासचिव प्रकाश तिमिल्सिनाले गरेका थिए।