कञ्चनपुरमा अदालतबाट सजाय सुनाइएका दुई फरार प्रतिवादी पक्राउ
धनगढी: कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा इलाका प्रहरी कार्यालय दोधाराचाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको हो।
पक्राउ पर्नेमा अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी कसुरमा दोषी ठहर भएका बिरेन्द्र साउद रहेका छन्। जिल्ला अदालत कञ्चनपुरको २०८२ जेठ ३० गतेको फैसलाअनुसार उनलाई १० वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो।
त्यसैगरी, लागूऔषध (खैरो हिरोइन) सम्बन्धी मुद्दामा दोषी ठहर भएका गणेश सुनार पनि पक्राउ परेका छन्। अदालतको २०८२ चैत २३ गतेको फैसलाअनुसार उनलाई १ वर्ष कैद सजाय तोकिएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार दुवै प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइएको छ। अदालतको आदेशअनुसार उनीहरूको सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।