स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि सर्टलिस्टमा १० उम्मेदवार
धनगढीः शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित उपकुलपति तथा रजिस्ट्रार नियुक्ति सिफारिस समितिले उपकुलपति पदका लागि आवेदन दिएका ३ जना र रजिस्ट्रार पदका लागि आवेदन दिएका ७ जनालाई सर्टलिस्टमा समावेश गरेको हो।
समितिको सूचनाअनुसार उपकुलपति पदका लागि तनहुँका प्राध्यापक डाक्टर काजिराम अधिकारी, काठमाडौंका प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रुपन्देहीका प्राध्यापक डाक्टर माधव लम्साल सर्टलिस्टमा परेका छन्। जोशी यसअघि विश्वविद्यालयका उपकुलपति रहिसकेका व्यक्ति हुन्। सरकारद्वारा अध्यादेशमार्फत नयाँ व्यवस्था लागू भएपछि उनी पदमुक्त भएका थिए।
त्यसैगरी रजिस्ट्रार पदका लागि कैलालीका प्राध्यापक डाक्टर पदमराज जोशी, तनहुँका प्राध्यापक डाक्टर काजिराम अधिकारी, बैतडीका भीमबहादुर चन्द, महोत्तरीका डाक्टर कादिर आलम, बर्दियाका प्राध्यापक डाक्टर दयाराम पोखरेल, बैतडीका राजेशकुमार ठकुराठी र कञ्चनपुरका डाक्टर डमरुप्रसाद पनेरु सर्टलिस्टमा परेका छन्।
सिफारिस समितिका अनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्तापछि उपकुलपति तथा रजिस्ट्रारको अन्तिम सिफारिस गरिनेछ। यसका लागि असार १५ गतेको मिति तोकिएको छ।
विश्वविद्यालय सभाले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो।