वर्षाको कामनासहित धनगढी उपमहानगरको टोली शैलेश्वरी मन्दिरतर्फ
धनगढीः लामो समयदेखि वर्षा नहुँदा बढ्दो खडेरीका बीच कैलालीको धनगढी उपमहानगरपालिकाको टोली वर्षाको कामनासहित डोटीस्थित शैलेश्वरी मन्दिरमा पूजा गर्न गएको छ।
नगर प्रमुख गोपाल हमालको नेतृत्वमा गएको टोलीले शनिबार बिहान शैलेश्वरी मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम रहेको छ। नगर प्रमुख हमालका अनुसार वर्षा होस् भन्ने कामनासहित पूजा गर्न टोली मन्दिरतर्फ प्रस्थान गरेको हो।
टोलीमा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी, वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझा, वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐर, वडा नम्बर ४ का अध्यक्ष बुद्धीबहादुर खड्का, वडा नम्बर ९ का अध्यक्ष प्रेम भण्डारीलगायत जनप्रतिनिधि सहभागी छन्।
सुदूरपश्चिममा खडेरी परेका बेला डोटीको शैलेश्वरी मन्दिरमा वर्षाको कामना गर्दै पूजा, भाकल र प्रार्थना गर्ने परम्परा रहँदै आएको छ। स्थानीय जनविश्वासअनुसार शैलेश्वरी मातालाई वर्षा र प्रकृतिकी देवीका रूपमा पूजा गरिन्छ। खडेरीको समयमा गाउँलेहरू सामूहिक रूपमा विधिपूर्वक पूजा–आराधना गर्ने चलन रहेको छ।