सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीका एकल महिलालाई उद्यमी बनाउने लक्ष्यसहित बेसार खेती तालिम

२०८३ असार १३, ०२:५७ खबर संवाददाता

धनगढीः गोदावरी नगरपालिकाका एकल महिलाहरूका लागि व्यावसायिक बेसार खेतीसम्बन्धी तीन दिने तालिम शनिबारदेखि सुरु भएको छ। शैलेश्वरी रिसर्च एण्ड कन्सल्टिङ प्रालिको आयोजनामा तथा गोदावरी नगरपालिकाको सहयोगमा तालिम सञ्चालन गरिएको हो।

मानव अधिकारका लागि महिला एकल महिला समूहकी प्रदेश कार्यक्रम अधिकृत वेद अवस्थीका अनुसार एकल महिलालाई उद्यमशील बनाउँदै आर्थिक रूपमा सशक्त गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिमको उद्घाटन गोदावरी नगरपालिकाकी नगर उप–प्रमुख शारदादेवी रोकायाले गरेकी हुन्। उद्घाटन समारोहमा उनले तालिम एकल महिलाहरूका लागि अत्यन्तै महत्वपूर्ण रहेको र व्यावसायिक बन्न सहयोग पुग्ने बताइन्।

उनले बेसार खेती तालिम लिएर व्यावसाय सुरु गरे एकल महिलाहरू आर्थिक रूपमा सशक्त हुने अवसर पाउने उल्लेख गर्दै समूह बनाएर व्यावसायिक खेती थाले नगरपालिकाबाट थप सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि जनाइन्।

गोदावरी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चेतराज अवस्थीले एकल महिलाहरूका लागि तालिम सञ्चालन गरिदिएकोमा गोदावरी नगरपालिका र सहजीकरणमा सहयोग गर्ने मानव अधिकारका लागि महिला एकल महिला समूह कैलालीलाई धन्यवाद दिए। उनले समाजमा एकल महिलाले भोग्दै आएको संघर्ष उल्लेख गर्दै अब एकल महिलाहरू आत्मनिर्भर भई अगाडि बढ्न आवश्यक रहेको धारणा राखे।

मानव अधिकारका लागि महिला एकल महिला समूहका जिल्ला अध्यक्ष मन्दोदरी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य समूहकी गोदावरी नगर सचिव जानकी बोहराले राखेकी थिइन्। तालिमको सहजीकरण प्रदेश कार्यक्रम अधिकृत वेद अवस्थीले गरिन्।

कार्यक्रममा समूहकी प्रदेश अध्यक्ष भगवती हमाल, गोदावरी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रभा हमाल, कृषि शाखा प्रमुख प्रशिक्षक नन्दी मल्लसहित हेमराज भट्ट र करुणा चन्दले प्रशिक्षण दिनेछन्। अत्तरियामा सञ्चालन भइरहेको तालिममा गोदावरी नगरपालिका वडा नम्बर २, ३, ५, १० र ११ का एकल महिलाहरूको सहभागिता रहेको छ।

यसैगरी शनिबार गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित जमुना नगरमा पनि एकल महिलाहरूका लागि तीन दिने व्यावसायिक बेसार खेती तालिम सुरु भएको छ। मानव अधिकारका लागि महिला एकल महिला समूहकी प्रदेश अध्यक्ष भगवती हमालको अध्यक्षतामा सुरु भएको उक्त तालिममा प्रमुख अतिथि नगर उप–प्रमुख शारदा देवी रोकाया तथा विशिष्ट अतिथि वडा नम्बर ७ का वडा अध्यक्ष कलापति साउँद रहेका थिए।

कार्यक्रमको उद्देश्यबारे प्रदेश कार्यक्रम अधिकृत वेद अवस्थीले जानकारी गराइन् भने कार्यक्रम सञ्चालन तारा चौधरीले गरिन्। तालिममा गोदावरी नगरपालिका वडा नम्बर ४, ६, ७, ८ र ९ का एकल महिलाहरूको सहभागिता रहेको छ।

कमेन्ट लोड गर्नुस