सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषिक्षेत्रलाई प्रविधिमैत्री बनाउन आह्वान

२०८३ असार १५, ०८:४५ खबर संवाददाता

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले  धान उत्पादनमा स्वनिर्भरता हासिल गर्न कृषिक्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा जलवायुमैत्री प्रविधिको प्रयोगलाई तीव्र बनाउन आह्वान गरेका छन्। २३ औँ राष्ट्रिय धान दिवस तथा दहीचिउरा पर्वका अवसरमा जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्न उत्पादन वृद्धि र कृषिक्षेत्रको रूपान्तरण अपरिहार्य रहेको उल्लेख गरेका हुन्। 

उनले नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै कृषकलाई कृषि सामग्री, उत्पादनको उचित मूल्य तथा बजार पहुँच उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको बताएका छन्। 

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो चुनौती देखा परेकाले सिँचाइ सुविधा विस्तार, आधुनिक प्रविधिको प्रयोग तथा कृषिक्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए। वर्षामा निर्भर नेपाली कृषि प्रणालीलाई दिगो र उत्पादनमुखी बनाउन सिँचाइ पूर्वाधार विस्तार अपरिहार्य रहेको उनको भनाइ छ। 

खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिलाई आधुनिक र सम्मानित पेसाका रूपमा विकास गर्न सके धान तथा चामलको आयात घटाउन सकिने उल्लेख गर्दै उहाँले विदेश पलायन भइरहेका युवाशक्तिलाई स्वदेशमै उत्पादन र उद्यमसँग जोड्नुपर्नेमा जोड दिएका छन्। 

आधुनिकीकरणमार्फत उत्पादन 

यसै गरी यही अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले कृषि उत्पादन वृद्धि, आधुनिकीकरण तथा व्यवसायीकरणमार्फत नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने बताए। 

उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न नवीन कृषि प्रविधिको प्रयोग, उत्पादनशीलता वृद्धि र सिँचाइ पूर्वाधार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवले छुट्टाछुट्टै शुभकामना सन्देशमार्फत राष्ट्रिय धान दिवसका अवसरमा कृषि श्रमको सम्मान गर्ने संस्कृतिलाई थप सुदृढ बनाउँदै कृषिप्रति युवापुस्ताको आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभएको छ । असार १५ लाई नेपाली समाजमा धान रोपाइँ र दहीचिउरा खाने सांस्कृतिक पर्वका रूपमा पनि विशेष महत्वका साथ मनाइँदै आएको छ।    

कमेन्ट लोड गर्नुस