सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

२०८३ असार १५, ०४:५९ रासस

 काठमाडौँ : राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजको बैठकमा राख्नुभएको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । सांसदहरूले राख्नुभएको प्रश्नहरूको जवाफ दिदै उनले बजेटमा आमजनताको हितका लागि शिक्षा, स्वास्थ्य र विद्युत्मा केही मात्रामा कर लगाइएको स्पष्ट पारे।

मुलुकका तीन चौथाई विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने गरेको उल्लेख गर्दै मन्त्री डा वाग्लेले  ‘सक्नेले नसक्नेलाई दिने’ भन्ने उद्देश्यका साथ निजी विद्यालयमा प्रगतिशील कर लगाइएको स्पष्ट पारे। त्यसैगरी मध्यमवर्गको राहतका लागि आय कर नलाग्ने रकम वृद्धि गरिएको जानकारी दिए।
 
वर्तमान सरकार आउनुअघि नै बजेट सिलिङ तोकिसकेकाले संवैधानिक निकायको बजेट वृद्धि गर्न नसकिएको मन्त्री डा वाग्लेको भनाइ छ । सरकारले महत्वाकांक्षी आर्थिक विकासको लक्ष्यअनुसार बजेट र कार्यक्रम ल्याएको तथा अर्थ मन्त्रालयलाई सुधार गरी कार्यान्वयन प्रभावकारी हुने व्यवस्था मिलाएको उनले बताए।

त्यसअघि सांसदहरू पदमबहादुर परियार, मदनकुमारी शाह (गरिमा), रोशनी मेचे, नारायणदत्त मिश्र, सोमनाथ पोर्तेल, विष्णुकुमारी सापकोटाले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै आफ्ना धारणा व्यक्त गरेका थिए। राष्ट्रिय सभाको अर्को बैठक यही असार १७ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

कमेन्ट लोड गर्नुस