सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौली–९ का वडाध्यक्षविरुद्ध वडा सदस्यको आमरण अनसन

२०८३ असार १६, ०३:४२ खबर संवाददाता

बैतडीः बैतडीको मेलौली नगरपालिका–९ का वडाध्यक्षविरुद्ध वडा सदस्यले आमरण अनसन सुरु गरेका छन्। नगरपालिकादेखि वडा नम्बर ९ जोड्ने निर्माणाधीन सडकको काममा वडाध्यक्ष लोकराज भट्ट लगायतले अवरोध गरेको आरोप लगाउँदै वडा सदस्य जनकराज भट्ट अनसन बसेका हुन्। उनीसँगै पूर्व वडा सदस्य भीमदेब भट्ट पनि अनसनमा सहभागी छन्।

सडक डिभिजन कार्यालय पाटनबाट निर्माण भइरहेको तिनजोर्ना–हरडाखान हुँदै वडा नम्बर ९ को कार्यालय तथा विशालपुर स्वास्थ्य चौकी जोड्ने सडकमा अवरोध भएपछि अनसन बस्नुपरेको पूर्व वडा सदस्य भीमदेब भट्टले बताए। अनसनरत दुबै जना मेलौली नगरपालिकाको मूलढोका नजिकै ब्यानर टाँगेर बसेका छन्।

सोमबार नगरपालिकालाई सडकसम्बन्धी समस्या लिखित रूपमा जानकारी गराएर अनसन सुरु गरिएको जनकराज भट्टले जानकारी दिए। सडक निर्माणमा भएको अवरोध नहट्दासम्म अनसन नतोड्ने उनको अडान छ। 'हामीले पानीसमेत नखाई अनसन सुरु गरेका छौँ, नगरपालिका र स्थानीय प्रशासनले समस्या समाधानका लागि पहल गरोस्,' उनले भने। तीन दिनभित्र सडक निर्माण कार्य सुचारु गराउन पहल नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि उनले दिएका छन्।

उता वडाध्यक्ष लोकराज भट्टले भने सडक चौडा पार्दा पहिरोको जोखिम बढ्ने र बस्ती नै जोखिममा पर्न सक्ने देखिएकाले वन उपभोक्ता समिति तथा स्थानीयवासीबाट विरोध भएको दाबी गरेका छन्। वडा कार्यालयसम्म ७ किलोमिटर सडक स्तरोन्नती गर्नुपर्ने ठाउँमा सडक डिभिजन कार्यालयले ३ किलोमिटरमै काम सीमित गर्न खोज्दा विवाद बढेको उनको भनाइ छ। अध्यक्ष भट्टले आफूले नभई सामुदायिक वनले वातावरणीय जोखिम हुने भन्दै वातावरणीय अध्ययन प्रतिवेदन बिना सडक निर्माण गर्न नदिने निर्णय गरेको जानकारी दिए।

सबै पक्षबीच समन्वय गरेर ७ किलोमिटर सडक स्तरोन्नतीको काम सम्पन्न गरिए विवाद समाधान हुने वडाध्यक्ष भट्टको तर्क छ। करिब तीन करोड रुपैयाँ लागतमा स्तरोन्नती भइरहेको उक्त सडकको आधाभन्दा बढी काम सम्पन्न भइसकेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस