सुदूर नेपाललाई विश्वसँग जोड्दै

गणित शिक्षकको क्षमता अभिवृद्धि गर्न तालिम

२०८३ असार १८, ०१:५५ रासस

कञ्चनपुरः आधारभूत तहका बालबालिकामा गणितप्रति रुचि, तार्किक सोच र समस्या समाधान गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले कक्षा १ देखि ३ सम्म गणित विषय शिक्षण गर्ने शिक्षकको क्षमता अभिवृद्धि गरेको छ। 

नगरपालिकाका २८ वटै सामुदायिक विद्यालयका गणित शिक्षकहरुलाई तालिममा सहभागी गराई आधुनिक, व्यवहारमुखी र विद्यार्थीकेन्द्रित शिक्षण विधिबाट गणित सिकाउने सीप प्रदान गरिएको हो। 

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सञ्चालन गरेको तालिममा शिक्षण सामग्रीको प्रभावकारी प्रयोग,दैनिक जीवनसँग गणितलाई जोड्ने अभ्यास तथा बालमैत्री शिक्षण विधिबारे विज्ञ प्रशिक्षकद्वारा प्रशिक्षण दिएको छ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले गणितलाई विद्यार्थीका लागि सहज, रोचक र व्यवहारिक विषयका रूपमा स्थापित गर्न दुई दिन (मङ्गलवार र बुधबार) तालिमको आयोजना गरिएको बताए। उनले तालिमका माध्यबाट प्रविधिमैत्री तथा सामग्रीमा आधारित शिक्षण विधिले विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।

तालिमका रोष्टर प्रशिक्षक परमानन्द नाथले गणित केवल हिसाब–किताबको विषय नभई बालबालिकाको तार्किक क्षमता, विश्लेषणात्मक सोच तथा समस्या समाधान गर्ने सीप विकास गर्ने आधार भएको बताए। गणितको जग बलियो बनाउन परम्परागत कण्ठ गर्ने विधिभन्दा प्रविधिमैत्री र सामग्रीमा आधारित शिक्षण विधिहरु संसारभर लोकप्रिय रहेको उनले बताए। 

उनका अनुसार चीन, जापान र दक्षिण कोरियालगायत मुलुकले दशमलव प्रणालीलाई प्रभावकारी रूपमा प्रयोग गर्दै आएका छन् भने भारत, अमेरिकालगायतका देशमा भिन्न प्रणालीलाई पनि समान महत्व दिएका छन्। नेपालमा भने दुवै प्रणाली समेटिएको पाठ्यक्रम कार्यान्वयनमा रहेको उनले जानकारी दिए।

तालिममा गणना सिद्धान्त, दैनिक जीवनसँग गणित जोड्ने अभ्यास, विद्यार्थीमा गणितीय अवधारणा विकास, ढाँचा पहिचान, तुलना तथा क्रमवृद्धि, मानसिक गणना, समय व्यवस्थापन र व्यवहारिक सिकाइमा विशेष जोड दिइएको उनले बताए। 

उनका अनुसार यसका साथै खेल, चित्र, स्थानीय स्रोत–सामग्री र सहपाठी सिकाइका माध्यमबाट गणितलाई सरल र प्रभावकारी बनाउने अभ्यास गराइएको छ।

प्रशिक्षक नाथले प्रारम्भिक तहका विद्यार्थीमा अङ्क सही रूपमा चिन्न नसक्ने, अङ्कलाई अक्षरमा लेख्न कठिनाइ हुने, घडी हेरेर समय बताउन नसक्ने, शब्दमा आधारित गणितीय समस्या समाधान गर्न नसक्ने, जटिल जोड, घटाउ, गुणा र भागमा समस्या देखिने तथा ज्यामितीय आकारको अवधारणा कमजोर हुने समस्या व्यापक रहेको उल्लेख गरे।

कार्यक्रममा अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को समावेशी तथा बालमैत्री विद्यालय सुधार परियोजनाअन्तर्गत सहपाठी सिकाइ, सहभागीमूलक कक्षाकोठा व्यवस्थापन तथा बालकेन्द्रित शिक्षण विधिबारे पनि प्रशिक्षण दिइएको छ। परियोजनाका प्रतिनिधि भीमबहादुर साउँदले शिक्षकले तालिमबाट सिकेका विधि व्यवहारमा उतार्न सके विद्यार्थीको गणितीय उपलब्धिमा उल्लेखनीय सुधार आउने बताए।

राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक धनसिंह महराले प्रारम्भिक तहका शिक्षकलाई यस्ता व्यवहारिक तालिमले कक्षाकोठामा प्रभावकारी शिक्षण गर्न ठूलो सहयोग पुग्ने बताए। उनले बालबालिकालाई रटाइभन्दा बुझाइमा आधारित सिकाइ गराउन सके गणितप्रतिको रुचि बढ्नुका साथै सिकाइ उपलब्धि पनि सुधार हुने धारणा व्यक्त गरे।

शिवशङ्कर माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी थापाका अनुसार कक्षा १ देखि ३ सम्मका बालबालिकाको गणितीय आधार बलियो बनाउन रटाइमा आधारित शिक्षणभन्दा ठोस सामग्रीमा आधारित, विद्यार्थीको सक्रिय सहभागिता गराउने र व्यवहारिक अभ्यास गराउने शिक्षण विधि प्रभावकारी मानिन्छ।

'यस्ता विधिबाट शिक्षकले जटिल गणितीय अवधारणालाई सरल रूपमा प्रस्तुत गर्न सक्ने क्षमता विकास गर्नुका साथै प्रविधि र आधुनिक शिक्षण विधिको प्रयोगबारे ज्ञान हासिल गर्छन्', उनले भने, 'विद्यार्थीमा भने गणितप्रतिको डर कम हुने, विषयप्रति रुचि बढ्ने, तार्किक तथा विश्लेषणात्मक सोचको विकास हुने, समस्या समाधान गर्ने क्षमता अभिवृद्धि हुने र दैनिक जीवनमा गणितको व्यवहारिक प्रयोग गर्न सक्ने सिप विकास हुने विभिन्न शैक्षिक अनुसन्धानले देखाएका छन्।'

उनले तालिमले शिक्षकको पेसागत क्षमता अभिवृद्धि गर्नुका साथै प्रारम्भिक तहका बालबालिकाको गणित सिकाइलाई गुणस्तरीय, व्यवहारिक र उपलब्धिमूलक बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। 

कमेन्ट लोड गर्नुस