धनगढीमा विपन्न परिवारलाई नेता नागरिकले गरे खाद्यान्न र लत्ताकपडा सहयोग
धनगढीः नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीले विपन्न परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेका छन्।
उनले धनगढी उपमहानगरपालिका–१, मोनिकापुरस्थित सुकुम्बासी बस्तीमा बस्दै आएको परिवारलाई चामल, दाल, तेल, नुन, मसला, साबुन, कुखुरा, फलफूल र लत्ताकपडा सहयोग गरेका हुन्। परिवारलाई ब्ल्याङ्केट, डसना, सिरानी र तन्नासमेत प्रदान गरिएको छ।
उक्त सहयोगमा हाल कुवेतमा रहेका बिरु नेपाली र अजय जैरुले पनि साथ दिएका छन्। परिवारको अवस्था देखेर सहयोग गरेको नागरीले बताए। उनले चाडपर्वको खुसी अभावमा रहेका परिवारसँग पनि बाँड्नुपर्ने बताए।
नागरीका अनुसार उनले लामो समयदेखि गरिब, असहाय र विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य आवश्यक सामग्री सहयोग गर्दै आएका छन्।