ललितपुरमा युवतीलाई गोप्य अङ्ग देखाउने व्यक्ति बैतडीका भएको खुलासा
धनगढीः ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग देखाउने व्यक्तिको घर बैतडी भएको खुलेको छ। बैतडीको पाटन नगरपालिका वडा नम्बर ७ घर भएका शिक्षा अधिकृत सुरेन्द्र भट्टले आइतवार बाटोमा हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग देखाएका थिए।
घटना आइतबार साँझ करिब साढे ६ बजे भएको हो। पीडित युवतीले घटनापछि ती पुरुषको भिडियो खिचेर सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेकी थिइन्। भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक ध्यान तानेको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटनामा संलग्न आरोपमा बैतडी घर भएका ५५ वर्षीय सुरेन्द्र भट्टलाई पक्राउ गरिएको हो। उनी हाल ललितपुरको महालक्ष्मी नगरपालिका-२ इमाडोलमा बस्दै आएका थिए। भट्ट सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत रहेको खुलेको छ।
प्रहरीका अनुसार गल्लीमा युवतीलाई एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग प्रदर्शन गरेको आरोप छ। त्यसपछि युवतीले साहस जुटाउँदै स्मार्टफोनमार्फत भिडियो खिच्दै उनलाई पछ्याएकी थिइन् र पक्राउ गरिदिन आग्रह गरेकी थिइन्। भिडियोमा अर्का एक यात्रुले आरोपीलाई नियन्त्रणमा लिएको, पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको दृश्यसमेत देखिन्छ।
पीडितले दिएको निवेदनको आधारमा प्रहरी प्रभाग इमाडोलले अनुसन्धान सुरु गरेको हो। घटनासँग सम्बन्धित सिसिटिभी फुटेज सङ्कलन गरी थप अनुसन्धान भइरहेको प्रहरी ललितपुर प्रहरीले जनाएका छन्।