सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदीय दलको बैठकअघि काँग्रेसका दुई मन्त्रीसहित पाँच सांसदबीच छुट्टै छलफल

२०८३ असार २२, ०३:२२ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेस संसदीय दलको बैठक बस्नुअघि दुई मन्त्रीसहित पाँच जना प्रदेशसभा सदस्यले छुट्टै छलफल गरेका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहले आजै आफ्नै सरकारी निवासमा काँग्रेस संसदीय दलको बैठक बोलाएका छन्। सरकारले असार १ गते प्रस्तुत गरेको बजेटमाथि भोलिदेखि प्रदेशसभामा छलफल सुरु हुने तयारी भइरहेका बेला बैठक आह्वान गरिएको हो।

संसदीय दलको बैठकअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दुई मन्त्री र तीन सांसदबीच बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रदेशसभा सदस्य दिवानसिंह विष्टले जानकारी दिए। उनका अनुसार बजेटमा देखिएका समस्या समाधानका लागि पार्टी केन्द्रले महामन्त्री प्रदीप पौडेललाई सुदूरपश्चिम पठाएको छ।

'हामीले मुख्यत: बजेटकै विषयमा छलफल गरेका हौँ। बजेटमा देखिएको समस्या समाधान गर्न केन्द्रबाट महामन्त्रीलाई खटाइएको छ,' विष्टले भने, 'एमालेले पनि आफ्नो प्रतिनिधि पठाएपछि समाधान खोज्ने गरी छलफल हुनेछ। सुदूरपश्चिमको बजेटमा सबैको बिमति छ।'

छलफलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर रावल, सामाजिक विकास मन्त्री बेलबहादुर राना, विधायन तथा प्रदेश मामिला समितिका सभापति देवानसिंह विष्ट, विशेषाधिकार समितिका सभापति तुलसी देवकोटा र प्रदेशसभा सदस्य ललिता सुनार सहभागी थिए।

सुदूरपश्चिममा नेपाली काँग्रेस नेतृत्वको सरकार रहे पनि बजेट वितरणलाई लिएर पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। यसअघि मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियानमा सहभागी आठ जना सांसदमध्ये आजको छलफलमा पाँच जना मात्र उपस्थित थिए। पदम शाही, गीता चौधरी र जुना दानी भने छलफलमा सहभागी भएनन्।

संसदीय दलको बैठकमा बजेट, पार्टीभित्र देखिएको असन्तुष्टि र आगामी राजनीतिक रणनीतिबारे व्यापक छलफल हुने स्रोतले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस