सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बसपार्कमा चालक र सहचालकलाई जर्सी वितरण

२०८३ असार २५, १०:४३ लक्ष्मण ढुङ्गाल

धनगढीः “स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना“ भन्ने मूल नारासहित धनगढी बसपार्कमा सम्पूर्ण यातायात प्रालिको आयोजनामा चालक, सहचालक तथा परिचालकलाई जर्सी (पोशाक) वितरण गरिएको छ।

कार्यक्रम सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाको सभापतित्व तथा सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा सुदूरपश्चिम यातायात प्रालिका पूर्वअध्यक्ष टेकराज जोशी, जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रमेशप्रसाद आचार्य, विभिन्न यातायात व्यवसायी, चालक, सहचालक तथा परिचालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा चालक तथा सहचालकलाई एउटै पहिचान झल्किने पोशाक उपलब्ध गराइएको छ। यसबाट यात्रुले टाढैबाट चालक तथा सहचालकलाई सहजै चिन्न सक्ने, सही सवारी साधन पहिचान गर्न सक्ने तथा यात्रु सेवामा थप सहजता आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ। प्रमुख अतिथि एसपी नवराज कार्कीले चालकहरू नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने अग्रपंक्तिका सेवा प्रदायक भएकाले उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।

उनले चालकहरूलाई सम्मान र प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकतामा राखिने उल्लेख गर्दै सडक सुरक्षाप्रति चालकहरूको जिम्मेवारी अझ बढेको बताए। उनले एउटै पोशाकको प्रयोगले सडकमा यात्रु तानातान गर्ने, कमिसनको प्रलोभनमा यात्रु अलमल्याउने तथा अव्यवस्थित गतिविधिमा कमी आउने विश्वास व्यक्त गरे। पोशाकले चालक तथा सहचालकको पहिचान स्पष्ट बनाउने भएकाले यात्रुको विश्वास बढ्ने र यातायात सेवा थप मर्यादित बन्ने उनको भनाइ थियो।

कार्यक्रमका सभापति तथा सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले यातायात क्षेत्रलाई व्यवस्थित, अनुशासित र सेवामुखी बनाउन यस्तो अभियान आवश्यक रहेको बताए। पोशाकले चालक तथा सहचालकको जिम्मेवारीबोध बढाउनुका साथै पेशालाई सम्मानित र आकर्षक बनाउने विश्वास उनले व्यक्त गरे।

सापकोटाले दैनिक हजारौं नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने चालकहरूको योगदान समाजका लागि सम्मानयोग्य रहेको उल्लेख गर्दै यात्रुको विश्वास जित्ने गरी सेवा प्रवाह गर्न सबै चालक तथा सहचालकलाई आग्रह गरे। आयोजकका अनुसार आगामी दिनमा पनि यातायात सेवा सुधार, चालकहरूको क्षमता अभिवृद्धि, सडक सुरक्षा सचेतना तथा सेवाको गुणस्तर वृद्धि गर्ने उद्देश्यका कार्यक्रमलाई निरन्तरता दिइनेछ।

चालक तथा सहचालकका लागि एउटै पहिचानयुक्त पोशाकको प्रयोगले सार्वजनिक यातायात क्षेत्रमा अनुशासन, पारदर्शिता र यात्रुमैत्री सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। धनगढी बसपार्कमा चालक–सहचालकलाई जर्सी वितरण, सुरक्षित र व्यवस्थित यातायात सेवामा जोड

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस