सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोगटान फुड्सिल गाउँपालिकाकाे चालु आर्थिक वर्षमा  ८४.४६ प्रतिशत बजेट खर्च

२०८३ असार २८, ०४:३८ खबर संवाददाता

डोटी: बोगटान फुड्सिल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार चालु आर्थिक वर्षको आम्दानी, खर्च तथा भुक्तानीसम्बन्धी कार्य २०८३ साल असार २५ गते सम्पन्न भएको र सोको वित्तीय विवरण असार २६ गते सार्वजनिक गरिएको हो।

गाउँपालिकाका अनुसार सुशासन ऐन तथा सार्वजनिक खर्चसम्बन्धी प्रचलित व्यवस्थाअनुसार पारदर्शिता कायम गर्ने उद्देश्यले स्वीकृत बजेट तथा कार्यक्रमअनुसार सम्पन्न भएका कार्य र खर्च विवरण सार्वजनिक गरिएको हो। साथै नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा सहयोग गर्ने सबै सरोकारवालाप्रति गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।

सार्वजनिक विवरणअनुसार चालुतर्फ रु. ३३ करोड ४२ लाख ३३ हजार ८७५.५८ बजेट विनियोजन भएकोमा रु. २८ करोड ७३ लाख ८ हजार ९०.३० खर्च भएको छ, जुन ८५.९६ प्रतिशत हो।

त्यस्तै, पूँजीगततर्फ रु. १२ करोड ५६ लाख ७३ हजार ३६२ विनियोजन भएकोमा रु. १० करोड ११ लाख ४१ हजार ९८४.२१ खर्च भएको छ, जुन ८०.४८ प्रतिशत रहेको छ।

समग्रमा गाउँपालिकाको रु. ४५ करोड ९९ लाख ७ हजार २३७.५८ कुल बजेटमध्ये रु. ३८ करोड ८४ लाख ५० हजार ७४.५१ खर्च भएको छ। यससँगै आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाको कुल बजेट खर्च ८४.४६ प्रतिशत पुगेको गाउँपालिकाले जनाएको छ।

उक्त सूचना लेखा अधिकृत मिनबहादुर चन्द तथा प्रमुख प्रशासकीय अधिकृत पदमराज अवस्थीद्वारा जारी गरिएको हो।

कमेन्ट लोड गर्नुस