सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भानुजयन्ती विशेष कार्यक्रम, तीन स्रष्टा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

२०८३ असार २८, ०५:१७ खबर संवाददाता

धनगढी: २१३औँ भानुजयन्तीको त्रिदिवसीय कार्यक्रमअन्तर्गत नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान र पद्म प्रभात प्रतिष्ठान, धनगढी कैलालीको संयुक्त आयोजनामा पुरस्कार समर्पण तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।

श्री १००८ स्वामी देवराज आचार्यको प्रमुख आतिथ्यता तथा पद्म प्रभात प्रतिष्ठानका अध्यक्ष डिल्लिराज फुलाराको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न विधाका तीन जनालाई सम्मान गरिएको हो।

कार्यक्रममा एक लाख रुपैयाँ राशिको ‘मनिराज वाङ्मय पुरस्कार’ प्राध्यापक शिव गोपाल रिसाललाई प्रदान गरिएको छ। त्यस्तै ११ हजार १०१ रुपैयाँ राशिको ‘पद्म प्रभात पत्रकारिता पुरस्कार’ पत्रकार डी.आर. पन्तलाई तथा ११ हजार १११ रुपैयाँ राशिको ‘भुवनेश्वरी पद्म प्रभात प्रतिभा पुरस्कार’ साहित्यकार हिरा भट्टलाई प्रदान गरिएको आयोजकले जनाएको छ।

सो अवसरमा प्राज्ञ वासुदेव पाण्डेय, प्राज्ञ यज्ञराज उपाध्याय, सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशी तथा वरिष्ठ साहित्यकार श्रेष्ठ प्रियापत्थरले आदिकवि भानुभक्त आचार्यको योगदान र नेपाली भाषा–साहित्यको महत्वबारे मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा सुदूरपश्चिमका साहित्यकार, पत्रकार, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस