सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि बम–जैसीलाई, २ नम्बर क्षेत्रमा सिंह–कुँवर विजेता

२०८३ असोज २५, ०८:४० खबर संवाददाता

महेन्द्रनगर: कञ्चनपुरको शुक्लाफाँटामा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका राजेन्द्र बम र नरेन्द्र जैसीको जोडीले जितेको छ।

आइतबार झलारीमा सम्पन्न फाइनलमा बम र जैसीको जोडीले स्थानीय खेलाडी विवेक ऐर र परमानन्द जोशीको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। बम र जैसीले पहिलो सेट २१–१७ र दोस्रो सेट २१–१५ ले आफ्नो पक्षमा पारे।

उपाधिसँगै विजेता जोडीले ४० हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता ऐर र जोशीको जोडीले २० हजार रुपैयाँमा चित्त बुझाएको छ।

दसैँ तथा शुभदीपावलीको अवसरमा शुक्लाफाँटा ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ स्तरीय प्रतिस्पर्धाको उपाधि राष्ट्रिय समाचार समिति (रासस) कञ्चनपुरका प्रमुख शेरबहादुर सिंह र डम्बर कुँवरको जोडीले जितेको छ।

सिंह र कुँवरको जोडीले फाइनलमा तेजबहादुर साउँद र तेज जोशीको जोडीलाई २१–१४ र २१–१० को सोझो सेटमा पराजित गरेको संघका अध्यक्ष पुष्पराज भट्टले जानकारी दिए।

क्षेत्रस्तरीय प्रतियोगिताको उपाधि जितेसँगै सिंह र कुँवरको जोडीले ३० हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता साउँद र जोशीको जोडीले १५ हजार रुपैयाँ प्राप्त गरेको छ।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले पुरस्कार वितरण गरेका थिए। प्रदेशस्तरीय खुला बी लेभलमा ६४ र निर्वाचन क्षेत्रस्तरीय प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस