सुदूर नेपाललाई विश्वसँग जोड्दै

३८ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय जोशी बने परिवार नियोजन संघ कैलालीको अध्यक्ष

२०८३ असार २८, ०९:४४ खबर संवाददाता

धनगढी: नेपाल परिवार नियोजन संघ कैलालीको अध्यक्षमा जनकराज जोशी निर्वाचित भएका छन्। आइतवार धनगढीमा सम्पन्न  कैलाली शाखाको ३३ औं अधिवेशनबाट जोशी अध्यक्षमा निर्वाचित भएका हुन्।

धनगढी-२ सन्तोषीटोलका जोशी नेपाल परिवार नियोजन संघको लेखा अधिकृत हुँदै कैलाली शाखा प्रवन्ध भएका व्यक्ति हुन्। उनले १६ वर्ष कर्मचारी भएर सेवा गरेको संस्थाको अध्यक्ष हुने मौका मिलेकोमा निकै खुशी भएको प्रतिक्रिया दिएका छन्। "मैले परिवार नियोजन संघमा १६ वर्ष सेवा गर्ने अवसर पाएको थिएँ, अहिले आएर अध्यक्ष हुने मौका मिल्यो," उनले भने, "स्वास्थ्य क्षेत्रमा २०४५ सालदेखि निरन्तर क्रियाशील छु। अब तीन वर्ष अध्यक्ष भएर सेवा गर्ने अवसर मिलेकोमा उत्साह थपिएको छ।"

३८ वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गरिरहेका जोशी कैलाली अस्पताल प्रालिका अध्यक्षसमेत हुन्। यस्तै, नेपाल निजी अस्पताल संघ (अफिन) को संस्थापक प्रदेश अध्यक्ष रहिसकेका जोशी हाल निर्वाचित केन्द्रीय सदस्य हुन्।

जोशी औषधी व्यवसायी संघ कैलालीको प्रथम अध्यक्ष हुन् भने हाल औषधी व्यवसायी संघका सुदूरपश्चिम प्रदेशको वरिष्ठ उपाध्यक्ष हुन्। उनी लायन्स क्लब ३२५ एनको सिनियर एक्जुकेटिभ चिफसमेत हुन्।

नवनिर्वाचित अध्यक्ष जोशीले आफ्नो कार्यकालमा प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन अधिकार, किशोर-किशोरीमैत्री सेवा तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन्।

कमेन्ट लोड गर्नुस