सुदूर नेपाललाई विश्वसँग जोड्दै

माइतीघर मण्डला न्यायको मञ्च कि ‘भाइरल’ हुने स्टेज ?

२०८३ असार २९, ०६:३६ विन्दु चन्द

धनगढी– नागरिक आवाज, शान्तिपूर्ण आन्दोलन र लोकतान्त्रिक अधिकारको प्रयोग भन्नासाथ सबैभन्दा पहिले सम्झिने स्थान हो माइतीघर मण्डला।

वर्षौंदेखि विभिन्न सामाजिक, राजनीतिक र मानवअधिकारका मुद्दामा न्यायको माग गर्दै नागरिकहरू सो स्थानमा उभिएका छन्।

धेरै आन्दोलन र अभियानले माइतीघर मण्डलाबाट गति लिएका छन्, जसले राज्यलाई नीति परिवर्तनदेखि न्यायिक प्रक्रिया अघि बढाउनसम्म दबाब सिर्जना गरेका उदाहरण छन्।

तर पछिल्लो केही समय यता भने माइतीघर मण्डला अर्कै कारण चर्चामा आउन थालेको छ। न्यायको आवाज भन्दा पनि भाइरल हुने मञ्च बनेको छ ।   

भ्युजका लागि गरिने अशोभनिय गतिविधिले लज्जास्पद पनि बनाएको छ । 

माइतिघरमण्डला न्याय होइन कमाइखाने भाडो जस्तो बनिरहेको छ । विभिन्न विवाद, सामाजिक सञ्जालमा भाइरल हुने घटनाक्रम, आरोप–प्रत्यारोप र आन्दोलनका क्रममा देखिएका केही अशोभनीय गतिविधिले यसको मूल उद्देश्यबारे सार्वजनिक रुपमा बहस हुन थालेको छ । 

कतिपयले यसलाई नागरिक स्वतन्त्रताको अभ्यास मान्छन् भने कतिपयले आन्दोलनको मर्यादा कमजोर बनाउने प्रवृत्तिको रूपमा हेर्छन्। 

लोकतान्त्रिक समाजमा विरोध प्रदर्शन नागरिकको मौलिक अधिकार हो। तर त्यो अधिकारको प्रयोग गर्दा कानुनी सीमा, सार्वजनिक मर्यादा र सामाजिक जिम्मेवारीको पनि उत्तिकै ख्याल गर्नुपर्छ। न्यायको माग गर्ने अभियान तथ्य, प्रमाण र शान्तिपूर्ण विधिमा आधारित हुँदा मात्र त्यसले व्यापक जनविश्वास प्राप्त गर्न सक्छ।

सामाजिक सञ्जालको बढ्दो प्रभावले पनि परिस्थितिलाई थप जटिल बनाएको छ। 

कुनै घटना पुष्टि हुनुअघि नै विभिन्न दाबी, भिडियो वा टिप्पणी तीव्र रूपमा फैलिने प्रवृत्तिले जनमत प्रभावित भइरहेको छ । 

यस्तो प्रवृत्तिले अनुसन्धान प्रक्रियामा दबाब सिर्जना गर्नुका साथै निर्दोष व्यक्तिको प्रतिष्ठामा समेत असर पार्न सक्ने जोखिम भइरहेको छ । 

यस्ता अपुष्ट सूचना साझा गर्नु वा कसैलाई कानुनी प्रक्रिया पूरा नहुँदै दोषी वा निर्दोष घोषणा गर्नु न्यायको सिद्धान्तसँग मेल पनि खाँदैन।

कानुनविद्हरूले पनि कुनै पनि घटनामा निष्पक्ष अनुसन्धान, प्रमाणमा आधारित निष्कर्ष र कानुनी प्रक्रियाको सम्मानलाई नै वास्तविक न्यायको आधार मान्छन्।

दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनु आवश्यक छ भने निर्दोष व्यक्तिको अधिकार र सम्मानको संरक्षण पनि समान रूपमा सुनिश्चित हुनुपर्छ।

माइतीघर मण्डला केवल एउटा चोक नभइ यो नागरिक चेतना, लोकतान्त्रिक अभ्यास र न्यायप्रतिको विश्वासको प्रतीक हो। 

त्यसैले यसको गरिमा जोगाउने जिम्मेवारी आन्दोलनकारी, राज्य, सञ्चारमाध्यम र आम नागरिक सबैको साझा दायित्व हो।

आन्दोलनको शक्ति भीडमा होइन, सत्य, मर्यादा र जिम्मेवारीमा निहित हुन्छ।

माइतीघर मण्डला भविष्यमा पनि न्याय, शान्तिपूर्ण अभिव्यक्ति र सकारात्मक परिवर्तनको केन्द्रका रूपमा स्थापित रहोस् भन्ने अपेक्षा सबैको साझा चाहना हो। सत्यको सम्मान, कानुनको पालना र जिम्मेवार नागरिक सहभागिता नै लोकतन्त्र बलियो बन्ने आधार पनि हो। 
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस