सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार सम्पन्न, गायनमा राजेन्द्र र नृत्यमा हनिश विजेता
धनगढीः सुदूरपश्चिम तथा कर्णाली प्रदेशका गायन र नृत्य प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने उद्देश्यले आयोजना गरिएको ‘सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार’ सम्पन्न भएको छ।
शनिश्चर म्युजिक प्रालिको आयोजनामा धनगढीमा असोज २३ गते सम्पन्न प्रतियोगिताको गायनतर्फ बैतडीका राजेन्द्र दयाल र नृत्यतर्फ हनिश मौनी प्रथम भएका छन्।
प्रतियोगिताको ग्राण्ड फिनालेमा गायनतर्फ १२ जना र नृत्यतर्फ ८ जना गरी २० जना प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका प्रतियोगीले आफ्नो गायन तथा नृत्य कला प्रस्तुत गरेका थिए। प्रतियोगितामा प्रथमदेखि पाँचौँ स्थानसम्मका विजेतालाई नगद पुरस्कारसँगै अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर प्रदान गरिएको छ।
गायनतर्फ प्रथम भएका बैतडीको मेलौली नगरपालिका–१, देहीका राजेन्द्र दयालले दुई लाख रुपैयाँ नगद पुरस्कारसँगै चार लाख रुपैयाँ बराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर प्राप्त गरेका छन्। त्यस्तै, दुई वर्षको सम्झौता तथा थाइल्यान्ड, मलेसिया र सिंगापुर भ्रमणको अवसरसमेत पाउनेछन्। गायनतर्फ धर्मराज तिमिल्सिना फर्स्ट रनरअप र महेश्वर थापामगर सेकेन्ड रनरअप बनेका छन्।
त्यस्तै, नृत्यतर्फ हनिश मौनी प्रथम भएका छन्। बाजुराकी सिर्जना विक फर्स्ट रनरअप र अछामका उमेश परियार सेकेन्ड रनरअप भएका छन्। प्रतियोगितामा दोस्रो हुनेले ७० हजार रुपैयाँ नगद र तीन लाख रुपैयाँ बराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर प्राप्त गर्नेछन्। तेस्रो हुनेले ३० हजार रुपैयाँ नगद र दुई लाख रुपैयाँ बराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर पाउनेछन्। चौथो हुनेले १३ हजार रुपैयाँ नगद र एक लाख रुपैयाँ बराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर प्राप्त गर्नेछन् भने पाँचौँ हुनेले पाँच हजार रुपैयाँ नगद र ५० हजार रुपैयाँ बराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर पाउनेछन्।
प्रतियोगिताकी निर्मात्री प्रमिला सिलवाल विगत २२ वर्षदेखि अमेरिकामा बस्दै आएकी छन्। विदेशमा रहे पनि आफ्नो देशप्रतिको माया र यहाँको कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने चाहनाले प्रतियोगितासँग जोडिएको उनले बताइन्। नेपाल विविधतायुक्त देश भएकाले यहाँका प्रतिभा उजागर गर्न र नेपाली संस्कृति चिनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण माध्यम बन्न सक्ने उनको भनाइ छ।
सिलवालका अनुसार प्रतियोगिताले गायन तथा नृत्यमा रुचि र क्षमता भएका नयाँ पुस्ताका बालबालिका तथा युवालाई अगाडि बढ्ने अवसर प्रदान गर्छ। प्रतिभा भएर पनि उचित मञ्च नपाएका कलाकारलाई पहिचान दिलाउँदै उनीहरूको क्षमता विकासमा सहयोग पुर्याउनु प्रतियोगिताको सकारात्मक पक्ष भएको उनले बताइन्। विदेशमा बसेर पनि आफ्नो देशका प्रतिभा र संस्कृतिका लागि योगदान गर्न पाउनु आफूका लागि महत्त्वपूर्ण रहेको उनको धारणा छ।
त्यस्तै, प्रतियोगिताका निर्देशक सुदीप जोशीले यस पटकको कार्यक्रमबाट उत्साह प्राप्त भएको बताए। सुदूरपश्चिम तथा कर्णालीका विभिन्न जिल्लाका प्रतिभालाई एउटै मञ्चमा ल्याउन सफल भएको उल्लेख गर्दै उनले आगामी संस्करणलाई थप व्यवस्थित र समावेशी बनाउने योजना रहेको जानकारी दिए। यस पटक थारू तथा राना थारू समुदायका गायक र नृत्य कलाकारलाई सहभागी गराउन नसकिएको भन्दै आगामी संस्करणमा ती समुदायका प्रतिभालाई समेत समेट्ने उनले बताए।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका कलाकारले आफूहरूका लागि यस मञ्चमा सहभागी हुनु नै गौरवको विषय भएको बताएका छन्। प्रतियोगिताले आगामी दिनमा गायन तथा नृत्य क्षेत्रमा अझ उत्साहित भएर लाग्न प्रेरणा दिएको उनीहरूको भनाइ छ।
पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाका गायन र नृत्य प्रतिभाको सहभागिता रहेको थियो। स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुर्याउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
नगद पुरस्कार, संगीत उत्पादन र अन्तर्राष्ट्रिय भ्रमणजस्ता अवसरले नयाँ कलाकारलाई आफ्नो प्रतिभा निखार्न तथा व्यावसायिक क्षेत्रमा अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगिताले सुदूरपश्चिम र कर्णालीको कला, संगीत तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।