सुदूर नेपाललाई विश्वसँग जोड्दै

सायलमा पहिरोमा फसेकाको साहसिक उद्धार, केही परिवार अझै उच्च जोखिममा

२०८३ असार ३१, ११:१६ खबर संवाददाता

डोटी: अविरल वर्षापछि डोटीको सायल गाउँपालिका–१ अन्तर्गत छपाली र कौराडी क्षेत्रमा पहिरो जाँदा जोखिममा परेका नागरिकहरूको प्रहरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सायल गाउँपालिका टोली र स्थानीयवासीको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको छ।

रास्वपा सायल गाउँपालिका सभापति गणेश ओझाका अनुसार असार २८ गते साँझदेखि परेको लगातार वर्षाले सडक पूर्ण रूपमा अवरुद्ध हुनुका साथै निरन्तर पहिरो खस्दा यात्रा गरिरहेका तथा स्थानीय बासिन्दा जोखिममा परेका थिए। छपाली अस्थायी प्रहरी पोस्टको टोली, रास्वपा सायल गाउँपालिका टोली र स्थानीयवासीको संयुक्त प्रयासमा पहिरोमा फसेका नागरिकलाई सुरक्षित स्थानमा उद्धार गरिएको उनले जानकारी दिए।

ओझाका अनुसार कौराडीका केही परिवार अझै उच्च जोखिममा रहेकाले तत्काल राहत, सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

यसैबीच, स्थानीयवासीलाई अनावश्यक यात्रा नगर्न, पहिरो प्रभावित क्षेत्र तथा खोलानालाको आसपास नजान र मौसमसम्बन्धी सूचनाको पालना गर्दै सतर्क रहन अनुरोध गरिएको छ।

कमेन्ट लोड गर्नुस