बन्धकी तमसुक गरेको जग्गा फिर्ता माग्दा धम्की, न्यायको खोजीमा भौतारिँदै कैलालीका पञ्चराम
धनगढीः कैलालीको कैलारी गाउँपालिका–६ का पञ्चराम परियार अहिले आफ्नै पुर्ख्यौली जमिन फिर्ता पाउने आशामा हरेक ढोका ढकढक्याइरहेका छन्। तर उनले जहाँ पुगे पनि आश्वासन मात्रै पाएका छन्, समाधान भने अझै भेटिएको छैन।
उनका अनुसार २०६१ साल असारमा तत्कालीन गदरिया गाविस (हाल कैलारी गाउँपालिका–६) स्थित १० कठ्ठा जग्गा स्थानीय कन्हैया चौधरीसँग ७५ हजार रुपैयाँमा फिर्ता गर्ने सर्तसहित बन्दकी राखेका थिए। आर्थिक अभावले बाध्य भएर जग्गा बन्धकी राखेपछि उनी रोजगारीको खोजीमा परिवारसहित भारत गएका थिए।
तर वर्षौंपछि गाउँ फर्किँदा उनीमाथि अर्को बज्रपात भयो। बन्धकी तमसुक राखेको जग्गा फिर्ता माग्दा कन्हैया चौधरीले जग्गा दिन अस्वीकार मात्र गरेनन्। उल्टै 'जे गर्न सक्छस् गर, जग्गा दिन्न' भन्दै धम्की दिने गरेको पञ्चरामको आरोप छ।
पञ्चराम भन्छन्,'आमाबुबाले दुःख गरेर कमाएको जमिन थियो। अभावले केही समयका लागि बन्धकी राख्यौं। पछि पैसा तिरेर फिर्ता लिने सहमति थियो। तर अहिले आफ्नै जग्गा माग्दा अपराधी जस्तो व्यवहार भइरहेको छ।'
'जग्गा बन्धकी राखेर रोजगारीका लागि भारत गएँ। उतै श्रीमती बितिन्। दुःख गरेर दुई छोरालाई हुर्काएँ। अहिले गाउँ फर्किँदा न बस्ने घर छ, न खेती गर्ने जमिन। आफ्नै साथीको घरमा आश्रित भएर बसिरहेको छु। अब छोराहरूलाई पनि घर चाहिएको छ। तर आफ्नो जग्गा माग्दा उल्टै धम्की आउँछ।'
पञ्चरामले आफ्नो अनुपस्थितिको फाइदा उठाएर बन्धकी तमसुक कागजलाई बिक्रीको कागज बनाइएको आरोप लगाएका छन्।
उनले भने, 'म भारतमै थिएँ। मेरो उपस्थितिबिना तीनवटा कागज बनाइएछ। बन्धकी नभएर जग्गा बेचेको कागज बनाएको छ। त्यो कसरी बन्यो, कसले बनायो, मलाई केही थाहा छैन। कागज देखाउन पनि मान्दैनन्।'
न्यायको आशामा उनले वडा कार्यालय, गाउँपालिका, न्यायिक समिति, भूमिसुधार कार्यालयलगायतका सम्बन्धित निकाय धाइसकेका छन्। तर हरेक ठाउँबाट भोलि आउ, मिलेर समाधान गर भन्ने जवाफ मात्रै पाएको उनको गुनासो छ।
'न्यायिक समिति गएँ, वडा गएँ, भूमिसुधार कार्यालय गएँ। सबैले आज होइन, भोलि आऊ भन्छन्। कसैले मेरो पीडा सुन्न चाहँदैन। आखिर गरीब भएकै कारण न्याय पाउन यति गाह्रो भएको हो' भन्दै उनी भक्कानिन्छन्।
यता कन्हैया चौधरीले भने आफूले उक्त जग्गा बन्धकी तमसुक नभई किनेको दाबी गरेका छन्। उनले भने, 'मैले जग्गा किनेको हुँ, किनेको प्रमाण छ मसँग, गाउँपालिकामा समेत प्रमाण छ। बिक्री गरेको जग्गा अहिले फिर्ता मागेर हुन्छ? यस्तो जग्गा यता धेरैले किनेका छन्।'
पञ्चरामले जग्गा बन्धकी तमसुक गरेर जग्गा फिर्ता पाउने सर्तमा कारोबार भएको बताएका छन्। यदि यो वास्तवमै बन्धकी तमसुक थियो भने पञ्चरामले आफ्नो पुर्ख्यौली सम्पत्ति फिर्ता पाउने कि नपाउने? वर्षौंदेखि न्यायको प्रतीक्षामा रहेका एक पीडित नागरिकको पुकार सम्बन्धित निकायले कहिले सुन्ने?