सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका विद्यालयमा छात्राहरु एक्कासी बेहोस  हुन थाले 

२०८३ असार ३२, ०१:५८

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–१ कलौनस्थित जगदम्बा आधारभूत विद्यालयका छात्राहरुमा एक्कासी बेहोस हुने समस्या देखिएको छ । 

गएको चार दिनदेखि छात्राहरुमा यो समस्या देखिएको विद्यालयका शिक्षक अम्बादत्त बडूले बताए । छात्राहरुमा एक्कासी बेहोस हुने र बर्बराउने समस्या देखिएको उनले बताए । 

शुरुमा एकजनामा यो समस्या देखिएपछि अरुलाई सोही प्रकारको समस्या देखिएको शिक्षक बडूले बताए । 

कक्षा ८ सम्मको पढाइ हुने उक्त विद्यालयका कक्षा ५ र ६ मा अध्ययनरत छात्राहरुमा बढीजसो यो समस्या देखिएको शिक्षक बडूले बताए । 

विद्यालयका छात्राहरुमा समस्या देखिएपछि स्वास्थ्यकर्मी र मनोपरामर्शदाताहरुको टोली विद्यालयमा पुगेको छ । छात्राहरुमा देखिने यो समस्या मास हिस्टेरिया हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । 

दशरथचन्द नगरपालिकाबाट मनोपरामर्शदाता र गुरुखोला स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मीहरु विद्यालयमा पुगेर समस्याको बारेमा जानकारी लिएको शिक्षक बडूले बताए । प्रभावित छात्राहरुलाई उनी मनोपरामर्श दिएका छन् । 

छात्राहरुमा एक्कासी बेहोस हुने समस्या देखिएपछि विद्यालयको पठनपाठन समेत प्रभावित हुँदै आएको छ ।
 

कमेन्ट लोड गर्नुस