बैतडीको सुर्नयामा निर्माणधिन शौचालय ठेउका खाने अड्डा जस्तै
बैतडीः बैतडीको सुर्नयामा गाउंपालिकामा रहेको निर्माणधिन सार्वजनिक शौचालय रक्सि (ठेउका) पिउने अड्डा जस्तै बनेको छ ।
झाडी, सिसाका बोतल र फोहोरको थुप्रोले घेरिएको यो शौचालय चार वर्षअघि निर्माण सुरु गरिएको थियो । यो संरचना अहिले शौचालय भन्दा ठेउका (रक्सी) खाने तथा जुवा खेल्ने अड्डा जस्तै बनेको छ ।
बैतडीको सुर्नया गाउँपालिका–४ मा सार्वजनिक सुविधा दिन भनेर सुरु गरिएको शौचालय आजसम्म प्रयोगमा आउन त के निर्माणले पुर्णता नै पाएको छैन् ।
शौचालयको वरिपरि विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र सानो बजार छ। दैनिक सयौं विद्यार्थी, बिरामी, सेवाग्राही र स्थानीय नागरिक यही क्षेत्रबाट आवतजावत गर्छन्। तर उनीहरूका लागि आवश्यक सार्वजनिक शौचालय भने चार वर्षदेखि कागजमै सीमित भएको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार वडा कार्यालयले निर्माण समिति बनाएर शौचालय निर्माण सुरु गरेको चार वर्ष बितिसकेको छ। शौचालय निर्माणका लागि वडाले ४ वर्षदेखि झण्डै २ लाख खर्च गरिसकेको छ ।
तस्विरमा शौचालयको भुइँमा झाडी उम्रिएको छ, फोहोर थुप्रिएको छ र संरचना प्रयोग गर्न सकिने अवस्थामा छैन। सार्वजनिक सम्पत्तिको संरक्षणसमेत नभएको देखिन्छ।
स्थानीयले निर्माणमा अनियमितता भएको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको स्थानीय बताएका छन्। यद्यपि उजुरीमाथि के प्रगति भएको छ भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
वडा अध्यक्ष प्रताप महराले भने चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने बताएका छन्। उनले गत वर्ष मात्रै शौचलय निर्माणका लागि ५० हजार खर्च गरेको बताए ।
तर चार वर्षदेखि पटक–पटक निर्माण पूरा गर्ने प्रतिबद्धता दोहोरिँदा पनि काम सम्पन्न नभएकाले स्थानीयले यसपटक पनि स्पष्ट समयसीमा र पारदर्शिताको माग गरेका छन्।