सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘दरबार हत्याकाण्ड दीपेन्द्रले गरेको भन्ने कथा सत्य होइन’: केपी ओली

२०८३ साउन १, ०३:३१ खबर संवाददाता

काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्र शाहले गरेको भन्ने स्थापित कथामाथि प्रश्न उठाएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आफ्ना बाबुआमा, भाइबहिनी तथा परिवारका अन्य सदस्यको हत्या गरेर दीपेन्द्रले अन्ततः आत्महत्या गरेको भन्ने कथा सत्य नभएको दाबी गरे। उनका अनुसार घटना लगत्तै प्रेम सम्बन्धसँग जोडिएको एउटा ‘रेडिमेड’ कथा विश्वभर फैलाइएको थियो।

ओलीले दरबार हत्याकाण्डको वास्तविकता अझै सार्वजनिक हुन नसकेको उल्लेख गर्दै भने, “२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड हुनेबित्तिकै विश्वव्यापी रूपमा एउटा कथा फैलाइयो। प्रेम सम्बन्धका कारण यस्तो भएको थियो र युवराज दीपेन्द्रले आफ्नै परिवारको वंशनाश गरेर अन्ततः आत्महत्या गरे भन्ने कथा तयार पारेर प्रचार गरियो। तर सही सूचना के हो, त्यो अझै थाहा छैन।”

उनले उक्त कथाको रचनाकार को हो भन्ने विषयसमेत अहिलेसम्म स्पष्ट नभएको बताए। “त्यो कथाको मूल स्रोत वा वाचक को हो भन्ने पनि थाहा छैन। तर एउटा कथा तयार गरियो र एकैपटक विश्वव्यापी रूपमा फैलाइयो,” उनले भने।

ओलीले विश्वका प्रमुख सञ्चारमाध्यमले समेत घटनाको सत्यतथ्य खोज्न पर्याप्त चासो नदिई फैलाइएको कथालाई नै आधार बनाएर समाचार सम्प्रेषण गरेको भन्दै आश्चर्य व्यक्त गरे। उनका अनुसार दरबार हत्याकाण्ड दीपेन्द्रको प्रेम असफलताका कारण भएको भन्ने कथा पनि घटनासँग सम्बन्धित षड्यन्त्रकारीहरूले नै निर्माण गरेको हुन सक्ने दाबी गरे।
 

कमेन्ट लोड गर्नुस