जङ्गली च्याउ खादा एक जनाको मृत्यु
काठमाण्डौंः दाङको तुलसीपुर–३ बल्लेमा जङ्गली च्याउ खाएका एक जनाको ज्यान गएको छ ।
३७ वर्षीया दिपा पुनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले बताए ।
पुनसहित उहाँको परिवारका पाँच जना र अर्को परिवारका दुई जनाले जंगलबाट ल्याइएको जङ्गली च्याउ पकाएर खाएपछि शुक्रबार बिरामी परेका थिए ।
बिरामीमध्ये दिपा पुनको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको थियो ।
घोराहीबाट थप उपचारका लागि गोग्लीको संजीवनी अस्पतालमा पठाइएको थियो । त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा हिजो ज्यान गएको हो ।
प्रहरी नायब उपरीक्षक केसीका अनुसार अरु ६ जना उपचारपछि सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
दशरथी पुन, डम्बरबहादुर पुन, तिलक पुन, विपीन पुन, विवेक पुन र सुमन बुढाथोकी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । जङ्गली च्याउ नखान प्रहरीको आग्रह छ ।