कीर्तिपुरमा जलेको गाडीबाट पुरुषको शव निकालियो, अनुसन्धान सुरु
काठमाडौं: कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक पुरुषको शव फेला परेको छ।
बा५च ३०३८ नम्बरको गाडीमा लागेको आगो नियन्त्रणमा लिएपछि प्रहरीले गाडीभित्रबाट एक पुरुषको शव निकालेको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार शवको पहिचान खुल्न बाँकी छ।
प्रहरीका अनुसार आगलागी भएको गाडी नबिल बैंकको नाममा दर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगलागीको कारण र घटनासम्बन्धी अन्य विवरण खुलाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।