जंगली बदेलले सखाप पार्न थाल्यो मकैबाली, बैतडीका किसान चिन्तित
बैतडी: बैतडीको पुर्चौडी नगरपालिका–९ का किसान जंगली जनावरका कारण मकैबाली जोगाउनै मुस्किल भएको भन्दै चिन्तित बनेका छन्। रातिको समयमा वनबाट गाउँ पस्ने जंगली बदेल, दुम्सी र बाँदरले मकैबाली नष्ट गर्न थालेपछि किसान वर्षौंदेखि ठूलो समस्यामा परेका हुन्।
स्थानीयका अनुसार हरेक वर्ष जंगली जनावरले पाक्न लागेको मकैबाली सखाप पार्ने गरेका कारण किसानले आफ्नो मेहनतको उचित प्रतिफल पाउन सकेका छैनन्। वन क्षेत्र बस्ती नजिकै रहेकाले राति विभिन्न जंगली जनावर खेतबारीमा पसेर बालीमा क्षति पुर्याउने गरेको उनीहरू बताउँछन्।
बाली जोगाउन किसानले रातभर पालैपालो खेतमा पहरा दिने, पासो थाप्ने तथा अन्य उपाय अपनाउँदै आएका छन्। तर वर्षायाममा लगातार वर्षा हुने भएकाले राति खेतबारीको रेखदेख गर्न कठिन हुँदा जंगली जनावरले झन् बढी क्षति पुर्याउने गरेको स्थानीयको गुनासो छ।
स्थानीयवासीले जंगली जनावर नियन्त्रण तथा बाली संरक्षणका लागि स्थानीय तहले प्रभावकारी योजना ल्याउनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार विद्युतीय बार, सुरक्षित घेराबार तथा क्षतिपूर्ति जस्ता कार्यक्रम सञ्चालन भए किसानलाई राहत मिल्ने विश्वास छ।
जंगली जनावरको बढ्दो आतंक, कृषि उत्पादनमा भइरहेको क्षति र पहाडी क्षेत्रमा आधारभूत सुविधा अभावका कारण धेरै परिवार बसाइँसराइ गरेर तराईतर्फ जान बाध्य भइरहेको स्थानीय बताउँछन्। उनीहरूका अनुसार अहिले पुर्चौडी क्षेत्रमा जंगली जनावरको समस्या स्थानीयका लागि प्रमुख चुनौती बनेको छ।