सुदूर नेपाललाई विश्वसँग जोड्दै

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

२०८३ कार्तिक १२, ०१:३२ रासस

काठमाडौँ : नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।

आयोजनाले आज सार्वजनिक सूचना जारी गरेर सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको हो । 
सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा भने ६० तोकिएको छ ।

त्यस्तै, मिनीबस, मिनी टिपर/ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा १२५ र काठमाडौँबाट प्रस्थान गर्दा भने ८० दस्तुर तोकिएको छ । 
त्यसैगरी बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि काठमाडौँ प्रवेश गर्दा २६० र काठमाडौँबाट प्रस्थान गर्दा २०० दस्तुर तोकिएको छ । 
त्यसैगरी मल्टिएक्सल ट्रक/सवारीसाधन, भारी उपकरणको लागि काठमाडौँ प्रवेश गर्दा ६०० र काठमाडौँबाट प्रस्थान गर्दा २५० दस्तुर तोकिएको छ । यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरेर  सवारीसाधन परीक्षणका रूपमा सवारीसाधन गुडाउँदै आइरहेको छ । 
 

कमेन्ट लोड गर्नुस