सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुक फ्री फ्राइडेबाट व्यवहारिक शिक्षामा जोड, सरसफाइ र ट्राफिक सचेतनामा विद्यार्थी सक्रिय

२०८३ साउन ८, ०६:०० लक्ष्मण ढुङ्गाल

धनगढी: विद्यार्थीलाई पाठ्यपुस्तकमै सीमित नराखी व्यवहारिक, सिर्जनशील र जीवनोपयोगी शिक्षासँग जोड्ने उद्देश्यले धनगढीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा 'बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालन गरिएको छ।

'किताबमुक्त शुक्रबार, जीवनोपयोगी शिक्षाको आधार' भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरू पुस्तक र झोला बिना विद्यालयमा उपस्थित भई सरसफाइ, ट्राफिक सचेतना, वातावरण संरक्षण, नैतिक शिक्षा तथा विभिन्न सिर्जनात्मक गतिविधिमा सहभागी भएका छन्।

'हाम्रो धनगढी, सफा धनगढी' भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रममार्फत विद्यालय परिसर तथा आसपासका क्षेत्रको सरसफाइ गरिएको थियो। विद्यार्थीहरूले सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाउँदै स्वच्छ वातावरण निर्माणप्रति आफ्नो जिम्मेवारीबोध प्रस्तुत गरेका थिए। सफा वातावरणले स्वस्थ जीवन निर्माणमा पुर्‍याउने योगदानबारे पनि जनचेतना फैलाइएको विद्यालयले जनाएको छ।

कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सडक सुरक्षाप्रति सचेत बनाउन ट्राफिक नियमसम्बन्धी प्रशिक्षणसमेत दिइएको थियो। सडक पार गर्ने सही तरिका, जेब्राक्रसको प्रयोग, ट्राफिक संकेतको पालना तथा पैदलयात्री र सवारी चालकले अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो। यसले सानै उमेरदेखि ट्राफिक अनुशासनको संस्कार विकास गर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ।

विद्यालयका अनुसार 'बुक फ्री फ्राइडे' कार्यक्रमको उद्देश्य विद्यार्थीमा पुस्तक पढ्ने बानीको विकाससँगै सिर्जनशील सोच, नेतृत्व क्षमता, आत्मविश्वास, सहकार्यको भावना र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्नु हो। नियमित कक्षाकोठाभन्दा बाहिर निस्केर सिकाइलाई व्यवहारसँग जोड्दै जीवनोपयोगी सीप विकास गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा कला, खेलकुद, वातावरण संरक्षण, सामाजिक सेवा, नैतिक शिक्षा तथा सचेतनामूलक गतिविधिलाई समेत प्राथमिकता दिइएको थियो। यस्ता गतिविधिले विद्यार्थीलाई जिम्मेवार, अनुशासित र समाजप्रति उत्तरदायी नागरिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विद्यालयले आगामी दिनमा पनि हरेक शुक्रबार नियमित पाठ्यपुस्तकको सट्टा व्यवहारिक सिकाइमा आधारित कार्यक्रमलाई निरन्तरता दिँदै गुणस्तरीय, व्यवहारिक र विद्यार्थीमैत्री शिक्षालाई थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने जनाएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस