डाक्टर केसीको अनशनको अन्तर्य के हो? यस कारण हुँदैछ विरोध
धनगढीः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यो वर्षको मंसिरबाट एमबिएसको पढाइ सुरू गर्ने तयारी थालिएको छ। विश्वविद्यालयले एमबिबिएसलगायतका अन्य तीन विधामा पनि अध्यापन गर्ने भएको छ।
गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न नेपाल सरकारले २०७८ चैत १४ र २०७९ जेठ ३१ गते गरी दुई पटक निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार गेटा विश्वविद्यालयको शिक्षण अस्पतालको क्षमता तीन सय शय्या हो।
सुशीला कार्की नेतृत्वको सरकारले उपकुलपति र रजिस्टार नियुक्त गरेपछि यो वर्षबाट एमबिबिएसको पढाइ सञ्चालन गर्ने भनेर गत फागुनमै विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगमा सेल्फ एप्राइजल फाराम भरेको छ। हरेक वर्ष सिट निर्धारणका लागि फागुनमै फाराम भरेर चिकित्सा आयोगमा बुझाउनुपर्छ। फाराम भर्ने कामसँगै अस्पताल सञ्चालन गर्न र पढाइ सञ्चालन गर्न पूर्वाधार विकासको काम समेत भइरहेको विश्वविद्यालयले जनाएको छ।
भदौ पहिलो साता आयोगले सुपरीवेक्षण गर्ने
गेटा विश्वविद्यालयले मंसिरबाट चिकित्सा शिक्षाको पढाइ सुरू गर्न आन्तरिक तयारी तीव्र पारेको जनाएको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशीले विश्वविद्यालयले सम्पूर्ण आन्तरिक तयारी गरिएको बताए।
जसअनुसार चिकित्सा शिक्षा आयोगको टोलीले भदौ पहिलो साता विश्वविद्यालयमा सुपरीवेक्षण गर्ने कार्यतालिका छ। भदौमा सुपरीवेक्षण गरेपछि आयोगले विश्वविद्यालयको पूर्वाधारको मूल्याङ्कन गरेर सिट संख्या निर्धारण गर्नेछ।
गेटामा यो पटक ५० सिट एमबिबिएस, बिएससी नर्सिङ ३० सिट, बिएससी एमएलटी र अप्टोमेट्रीमा २०/२० सिट अध्यापन गराउने तयारी थालिएको रजिस्टार डाक्टर भीमबहादुर चन्दले बताए। चिकित्सा शिक्षा आयोगले भने अस्पतालको सुपरीवेक्षणपछि मात्रै सिट संख्या निर्धारण गर्ने छ।
गेटामा एमबिबिएसलगायत चार विधाको पढाइ गर्न र शिक्षण अस्पताल सञ्चालन गर्न विश्वविद्यालयले प्राध्यापक, उपप्राध्यापक र अन्य आवश्यक कर्मचारीसमेत भर्ना गरेको जनाएको छ। विश्वविद्यालयले पढाइ सुरू गर्न २६ जना प्राध्यापक/सहप्राध्यापक र ५१ जना उपप्राध्यापक नियुक्तिका लागि विज्ञापन गरेर नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको विश्वविद्यालयले जनाएको छ।
तर, विश्विद्यालय सञ्चालनमा आउन लागेकै बेला डाक्टर केसीले विश्वविद्यालयका पदाधिकारी हटाउनुपर्ने माग राख्दै अनशन बस्नुलाई सुदूरपश्चिमेलीहरूले सकारात्मक रुपमा लिएका छैनन्। जसको फलस्वरुप आज मात्रै डाक्टर केसी विरुद्ध धनगढीमा प्रदर्शन गरिएको छ।
डाक्टर केसीको अनशनको अन्तर्य के हो?
गेटामा एमबिएसको पढाइ सुरु गर्ने भनेर सम्पूर्ण तयारी थालिएको बेला डाक्टर गोविन्द केसीले पदाधिकारीलाई हटाउनुपर्ने माग राख्दै अनशन बसेका छन्। डाक्टर केसी चिकित्सा शिक्षा सुधार अभियानका प्रमुख आन्दोलनकर्ता हुन् तर यो पटक उनको भूमिकामा आशंका गर्न थालिएको छ।
विश्वविद्यालयका पदाधिकारी विद्यमान कानुन र कार्यविधिको अधिनमा रहेर नियुक्त गरिएको भए पनि एमबिबिएसको पढाइ सुरू गर्नै लाग्दा पदाधिकारीकै राजीनामा माग्नुले गेटामा मेडिकल विश्वविद्यालय नचलोस् भन्ने मनसायले काम गरेको विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) को भनाइ छ।
उनले डाक्टर केसीले गेटा विश्वविद्यालयसँग सम्बन्धित माग गलत रहेको बताए। 'डाक्टर केसीले राखेका अन्य मागहरुका विषयमा हाम्रो भन्नु केही छैन तर गेटाका विषयमा राखिएको माग गलत छ। यो वर्ष एमबिबिएसको पढाइ रोकियोस् भन्ने मनसायले गेटाको माग अगाडि सारिएको प्रष्ट बुझ्न सकिन्छ। जुन मागमा कुनै पनि हालतमा सहमत हुन सकिन्न,' उनले भने, 'चिकित्सा शिक्षा सुधारको नाममा गेटा विश्वविद्यालयको भविष्यसँग खेलवाड गर्न पाइन्न।'
डाक्टर केसी सुरुदेखि नै गेटामा मेडिकल कलेज हुनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन्। उनले अहिले निकालेको प्रेस विज्ञप्तिमा पनि काठमाडौँ या धरानमा मेडिकल विश्वविद्यालय हुनुपर्ने उल्लेख गरेका छन्। यसबाट के स्पष्ट हुन्छ भने सुदूरपश्चिमको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न निर्माण भएको ऐनलाई पन्छाउँदै काठमाडौं र धरानमध्ये कुनै एक ठाउँमा मेडिकल विश्वविद्यालय चलाउने र गेटामा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भन्ने षडयन्त्रले काम गरेको संयोजक पाण्डेको बुझाइ छ।
डाक्टर केसीको मागअनुसार उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिस्टार डाक्टर भीमबहादुर चन्दलाई हटाइयो भने नयाँ उपकुलपति नियुक्त गर्न विश्वविद्यालय ऐन र कार्यविधिमा संशोधन गर्नुपर्ने हुन्छ। ऐन संशोधन गर्न लाग्ने समय एकिन छैन भने उपकुलपति र रजिस्टार नियुक्ति गर्न कम्तिमा तीन महिना लाग्छ।
एमबिबिएसको पढाइका लागि आवश्यक काम गर्नुपर्ने बेलामा पदाधिकारी नै हटाइए चिकित्सा शिक्षा आयोगले शिक्षण अस्पतालको सुपरीवेक्षण गर्ने कामसमेत अलपत्र पर्दा आगमी मंसिरमा एमबिबिएसका लागि विश्वविद्यालयले विद्यार्थी भर्ना गर्ने प्रक्रिया नै रोकिन्छ। अहिलेका पदाधिकारीले नै टिचिङ फ्याकल्टी नियुक्त गर्ने र अन्य आवश्यक व्यवस्थापनको काम गरिरहेका छन्।
द्रुत गतिमा पदाधिकारीले काम गर्नुपर्ने समयमा राजीनमा मागिनुले सुदूरपश्चिममा अझै कम्तिमा तीन वर्षसम्म एमबिबिएसको पढाइ रोकियोस् भन्ने मनोविज्ञानले काम गरेको बुझ्न सकिने संघर्ष समितिका संयोजक पाण्डेले बताए। उनले गेटामा सञ्चालन हुन लागेको मेडिकल विश्वविद्याल खोस्ने नियतले डाक्टर केसीलाई अनशन बस्न लगाइएको आशंका गरेका छन्।
सरकारले एमबिबएसको पढाइ सञ्चालनसँगै तीन सय शय्याको अस्पताल चलाउन दुई अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ। बजेट सनिश्चित भएसँगै सरकारले पदाधिकारीसमेत नियुक्त गरेकाले गेटामा विश्वविद्यालय सञ्चालन हुने कुरा कसैले रोक्न नसक्ने भएपछि विश्वविद्यालय भाड्न डाक्टर केसीलाई अगाडि सारेर अनशन बस्न लगाइएको भन्दै सर्वसाधारणले समेत विरोध गरेका छन्।
अहिले धनगढी आएर डाक्टर केसीले अनशन बस्नु र उनको अनशनको मागमा गेटासमेत पर्नुले गेटामा कुनै पनि हालतमा विश्विवद्यालय चल्न दिनुहुन्न भन्ने षडयन्त्रले काम गरेको अनुभूति दिएको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालबाट खबरदारी गरिरहेका छन्।
गेटाको विषयमा डाक्टर केसीले राखेका मागहरू यदि सरकारले पूरा गरे त्यसका विरुद्ध कडा कदम चाल्ने चेतावनी दिइएको छ। संघर्ष समितिका संयोजक पाण्डेले अनशनका विरुद्ध अनशन नै बस्नसमेत तयार रहेको बताएका छन्। उनले डाक्टर केसीको अनशनको अन्तर्य गेटामा विश्वविद्यालय नचलोस् भन्ने रहेको देखिएकाले आफूहरूले सुरुदेखि नै खरबदारी गरिरहेको बताए।