सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर केसीसँग वार्ता गर्ने टोलीमा सामेल डाक्टर जेपी अग्रवालको स्वार्थ के?

२०८३ साउन ९, ०७:५१ नारायण अवस्थी

धनगढी: धनगढीमा सत्याग्रह गरिरहेका डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्।

मन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेल शनिबार धनगढी पुगेका हुन् । शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डाक्टर केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो।

वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीशप्रसाद  अग्रवाल (जेपी अग्रवाल) र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डाक्टर केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ।

सरकारले वार्तामार्फत डाक्टर केसीसँग सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई सकारात्मक मान्नुपर्छ तर वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवालको भूमिका भने सकारात्मक नरहेको जानकारहरू बताउँछन्। डाक्टर अग्रवाल गेटामा मेडिकल विश्वविद्यालय हुनुहुँदैन भन्ने मत राख्ने व्यक्ति हुन्। उनले अहिलेसम्म गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय हुनुहँदैन भन्ने लविङ गर्दै आएको बुझिएको छ।

डाक्टर केसीको पनि विगतमा गेटामा विश्वविद्यालय  हुन नहुने भन्ने अभिव्यक्ति दिएका इतिहास छ। उनले गेटामा विश्वविद्यालय सञ्चालन गर्नुभन्दा काठमाडौँको आइओएम या धरानको बिपीकेआइएसलाई मेडिकल विश्वविद्यालय बनाउनुपर्ने अडान राखेको प्रमाणहरू सार्वजनिक रुपमै आएका छन्।

यस्तै, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर अग्रवाल पनि काठमाडौँ या धरानमध्ये एक ठाउँमा  मेडिकल विश्वविद्यालय हुनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन्। उनले प्रधानमन्त्री कार्यालयबाट अहिले पनि गेटामा विश्वविद्यालय सञ्चालन नहोस् भनेर अधिकतम शक्ति लगाइरहेको स्वास्थ्य क्षेत्रका जानकारहरूको दाबी छ।

स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिवको टोलीमा गेटा विश्वविद्यालयप्रति बक्र दृष्टि राख्ने प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार अग्रवाल सामेल हुनुलाई  अर्थपूर्ण रुपमा हेरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस