दामाहाको ताल र भैलीका भाका हराउँदै, चिन्तामा पुरानो पुस्ता
धनगढीः कुनै समय गाउँघरमा आपसी सद्भाव, मेलमिलाप र आत्मीयता बढाउने माध्यम बनेको देउसी–भैलोको मौलिकता हराउँदै गएको छ।
दामाहाको ताल, भैलीका परम्परागत भाका र पुर्खौँदेखि चल्दै आएका सांस्कृतिक अभ्यास अहिले कम सुनिन थालेका छन्। आधुनिक शैली र बदलिँदो जीवनशैलीका कारण देउसी–भैलोको मौलिक पहिचान ओझेलमा पर्दै गएको छ।
धनगढीमा बसोबास गर्दै आएका बझाङका मिनबहादुर सिंहका अनुसार बझाङमा देउसीसँगै भुवा खेल्ने चलन पनि थियो। उनका अनुसार गाउँघरमा परम्परागत भाकामा देउसी–भैलो खेल्ने र सामूहिक रूपमा संस्कृति मनाउने गरिन्थ्यो। तर, अहिले पुराना भाका र परम्परागत शैली हराउँदै गएको उनको अनुभव छ। ’अहिले त देउसीका पुराना भाका सुनिनै छाडेका छन्,' उनले भने।
पुरानो पुस्ताको अनुभवअनुसार पहिले परिवार, गाउँछिमेक र साथीभाइ मिलेर देउसी–भैलो खेल्दा छुट्टै आत्मीयता र मेलमिलाप हुन्थ्यो। संस्कार, संस्कृति र मौलिकताको झल्को देखिन्थ्यो। तर, अहिले देउसी–भैलोको त्यो परम्परागत रमाइलोपन घट्दै गएको छ। पुख्र्यौली चलन नै हराउने हो कि भन्ने चिन्ता बुढापाकामा देखिन्छ। धनगढीका यज्ञराज पन्त पनि पहिलेको जस्तो भैली अहिले देख्न नपाइने बताउँछन्। ’भैलीका मौलिक भाका लोप हुनुको मुख्य कारण पहाड रित्तिनु हो,' उनले भने, ’अहिले त देउसीलाई फेसनका रूपमा विकास गरिएको छ।'
सुदूरपश्चिमका पहाडी जिल्लामा दामाहा बजाएर चौलो खेल्ने, बडा काजीको घरमा पुगेर भैलो खेल्ने र दामाहा जुधाएर रमाइलो गर्ने आफ्नै सांस्कृतिक परम्परा छन्। यस्ता परम्पराले समुदायलाई एकताबद्ध बनाउनुका साथै पुर्खाको संस्कृति र इतिहासलाई जीवन्त राख्दै आएका छन्। तर, बसाइँसराइ, पुस्तान्तरणको अभाव र आधुनिक जीवनशैलीका कारण मौलिक परम्परा ओझेलमा पर्दै गएका छन्।
यद्यपि, आफ्नो पुख्र्यौली संस्कृति जोगाउन केही युवाहरू अझै सक्रिय छन्। धनगढीमा दामाहा बजाउँदै परम्परागत शैलीमा भैलो मागेर संस्कृति संरक्षणको प्रयास भइरहेको उपेश विश्वकर्मा बताउँछन्। उनी परिवारका सदस्य र बाजागाजासहित भैलो खेल्दै ठुलाबडाबाट आशीर्वाद लिने परम्परालाई निरन्तरता दिइरहेका छन्। यस्ता प्रयासले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।