सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको सास्ती, पालो नपाएर ३–४ दिनसम्म कुर्नुपर्ने बाध्यता

तस्बिर : लक्ष्मण ढुङ्गाल
तस्बिर : लक्ष्मण ढुङ्गाल
२०८३ साउन १३, ११:५६ लक्ष्मण ढुङ्गाल

धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको अत्यधिक भीड बढेपछि पालो नपाएर धेरैजना निराश हुँदै फर्किन बाध्य भएका छन्। जिल्लाका विभिन्न स्थानीय तहबाट सेवा लिन आउने सेवाग्राहीले ३–४ दिनसम्म कुर्नुपरेको गुनासो गरेका छन्।

केही दिनयता राष्ट्रिय परिचयपत्र बनाउन आउनेको चाप अस्वाभाविक रूपमा बढेपछि एकै दिनमा सेवा लिन सम्भव नभएको हो। बैंकिङ सेवा तथा अन्य विभिन्न सरकारी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुन थालेपछि कार्यालयमा दैनिक सेवाग्राहीको भीड बढ्दै गएको छ।

सेवाग्राहीका अनुसार एकै दिनमा काम सम्पन्न नहुँदा पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता छ। अत्यधिक गर्मीका बीच साना दुधे बालबालिका च्यापेर समेत सेवा लिन पुगेका नागरिक घण्टौँ लाइनमा बस्न बाध्य छन्।

जिल्ला प्रशासन कार्यालयमा दैनिक ५ सयभन्दा बढी सेवाग्राही पुग्ने गरे पनि हाल एक सय महिला र एक सय पुरुष गरी जम्मा २ सय जनालाई मात्र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गरिँदै आएको छ। सीमित सेवा क्षमताका कारण अधिकांश सेवाग्राही पालो नपाई फर्किनुपर्ने अवस्था रहेको छ।

यता जिल्ला प्रशासन कार्यालय कैलालीले भने सामाजिक सुरक्षा भत्तासम्बन्धी प्रक्रियाका कारण केही समयका लागि सेवाग्राहीको चाप बढेको जनाएको छ। कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी खडानन्द खत्रीका अनुसार हालको भीड अस्थायी प्रकृतिको हो र केही सातापछि चाप घट्ने अपेक्षा गरिएको छ।

उनले सेवाग्राहीको भीड व्यवस्थापन गर्न टोकन प्रणाली लागू गरिएको जानकारी दिँदै उपलब्ध जनशक्ति र मापदण्डअनुसार सेवा प्रवाह भइरहेको बताए।

यद्यपि सेवाग्राहीहरूले दैनिक सेवा क्षमता बढाउन, आवश्यक जनशक्ति थप परिचालन गर्न र तोकिएको सीमाभन्दा बढीलाई सेवा उपलब्ध गराएर नागरिकको सास्ती कम गर्न प्रशासनसँग माग गरेका छन्।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस