सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्खेतबाट अछाम जान लागेको गाडी दैलेखमा दुर्घटना, ४ जना घाइते

२०८३ साउन १३, १२:२७ खबर संवाददाता

सुर्खेतः दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सुप्र ०१–००१ ख ३०७२ नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका–१ स्थित मैनेखोलामा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बुधवार बिहान करिब ८ बजेतिर भएको दुर्घटनामा गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो। गाडीमा चालकसहित ६ जना सवार रहेकामा दुई जना सकुशल रहेका छन् भने अन्य चार जना घाइते भएका छन्।

घाइतेमध्ये अछामको कमलबजार नगरपालिका–६, हात्तिबाजका चक्र शाही र सुमन शाहीको पहिचान खुलेको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेको परिचय खुल्ने क्रम जारी रहेको छ।

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

कमेन्ट लोड गर्नुस