नयाँबसपार्कमा दसैँका यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ : काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।
महानगर प्रहरी बल नयाँबसपार्कका प्रमुख महानगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितले काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभागमार्फत चाडपर्वमा घर जाने यात्रुलक्षित गरी निःशुल्क स्वास्थ्य जाँच सुरु गरिएको जानकारी दिए । महानगरले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधि वितरण गरिरहेको उनको भनाइ छ ।
उक्त सेवा दसैँभरि सञ्चालन हुने महानगर कार्यालयले जनाएको छ । नयाँ बसपार्कमा हुने भीडभाड नियन्त्रणका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ । प्रहरीले भीडभाड नियन्त्रणका साथै यात्रुलाई सहजै रूपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सहजीकरण गर्नेछ ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कमा केही दिनदेखि चाडपर्वका निम्ति घर जाने यात्रु बढेको बताए । उनले अरू समयमा प्रत्येक दिन पाँचदेखि छ हजार यात्रु काठमाडौँबाट बाहिर जाने गरेकामा हाल उक्त सङ्ख्या तेब्बरसम्म पुगेको बताए ।