सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग

२०८३ साउन १४, ०३:४७ रासस

काठमाडौँ: प्रतिनिधिसभाका सांसदहरूले सुनसरीको घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न र पीडित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको विशेष समयमा उनीहरूले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे। बैठकमा सांसद गुरूप्रसाद बरालले सुनसरीको घटना समाधानमा सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको टिप्पणी गर्दै समाजमा धार्मिक सहिष्णुता कायम गर्न सरकारले सहजकिरण भूमिका निर्वाह गर्नुपर्ने बताए।

सांसद युवराज दुलालले गुठी जग्गाको संरक्षण र मोहियानी किसानका समस्याका बारेमा जानकारी गराउँदै सो सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए। उनले विभिन्न सहरका केन्द्रमा महत्त्वपूर्ण स्थानमा भूमाफियाका आँखामा परेका जग्गाको संरक्षणमा लाग्न सरकारसँग आग्रह गरे।

सांसद आरेन राईले बाँदरले किसानको खेतीमा गरेको क्षतिका बारेमा जानकारी गराउँदै किसानले अन्य दु:ख र झमेलासँगै बाँदरको समस्या थपिएको बताए। यसलाई समाधान गर्न सरकारले तत्काल प्रभावकारी काम गर्नुपर्ने उनले आवश्यकता औँल्याए।

सांसद भरत गिरीले सुनसरीको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न र पीडित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरे। साथै उनले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे।

सांसद प्रकाशचन्द्र परियारले सबै धर्म, पर्व र संस्कृतिप्रति आमनेपालीको साझा आस्था रहेको प्रसङ्ग उल्लेख गर्दै नेपालमा धर्म र संस्कृतिका नाममा कहिल्यै पनि युद्ध नभएको र हुने नदिइने बताए। उनले सुरसरीलगायत क्षेत्रमा भएका पछिल्ला गतिविधिले चिन्तित तुल्याएको बताउँदै हल्लाका पछि नलाग्न आमजनतालाई आग्रह गर्नुका साथै घटनाका दोषीमाथि कारबाही गर्न माग गरे।

सांसद चन्द्रमोहन यादवले किसानलाई समयमै मल, बिउ, र सिँचाइको व्यवस्था गर्न माग गर्दै चिकित्सकले सुरक्षित रूपमा पेसा गर्न नपाएको केही दिन अघिको अवस्थामा बारेमा सरकारको ध्यानाकर्षण गराए। उनले त्यसका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गरे।

सांसद साजिका खातुका सिद्धिकी र सरस्वती लामाले सुनसरी घटनामा गोली चलेकाबारेमा उच्चस्तरीय छानबिन गर्न माग गर्दै घटनाका मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारका लागि सरकारसँग माग गरे।  

सांसद श्रीराम न्यौपानेले नागढुङ्गा–सुरुङमार्ग निर्माणका क्रममा निधन भएका ओमप्रकाश पाण्डेप्रति श्रद्धाञ्जली र निर्माणका क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले उक्त आयोजना राष्ट्रकै लागि गौरव भएको बताए।

सांसद प्रकाशसिंह कार्कीले सुनसरीकाजस्ता घटना आगामी दिनमा हुन नदिन सरोकारवालासँगै सरकार सचेत हुनुपर्ने बताउँदै सबै मिलेर समाजमा धार्मिक सहिष्णुता कायम गर्न आग्रह गर्नुभयो । 

सांसद डा लेखजङ्ग थापाले वीरगञ्ज नारायण अञ्चल अस्पतालको घटनापछि सरकार र नेपाल चिकित्सक सङ्घपछि पाँचबुँदे सम्झौता भएर राम्रो काम भएको भन्दै वार्ताबाट समाधान समाधान खोज्नु नै महत्त्वपूर्ण भएको बताउनुभयो । 

कमेन्ट लोड गर्नुस