सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिमीलाई सुम्पिएको मुटु भाग-२

२०८३ साउन १६, १२:०४ नारायण अवस्थी

पहिलो बिछोड
समयको आफ्नै बानी हुन्छ। समयलाई आफ्नो अनुकूल हिँडाउन सकिन्न। हामीले नै समयअनुसार हिँड्ने प्रयत्न गर्नुपर्छ।
समय कहिल्यै एउटै मोडमा रोकिँदैन। हामीले जति नै कोसिस गरेर कुनै दिनलाई मुटुभित्र थुनेर राख्न खोजे पनि, समयले त्यसलाई विस्तारै स्मृतिमा बदलिदिन्छ। समयले हामीलाई नयाँ अनुभव दिँदै र पुराना बिर्साउदै बाँच्न सिकाइदिन्छ।

म, हाम्रो पुरानो कथालाई फेरि अगाडि बढाउने अनुमति माग्छु।

बाटुली र म कक्षा तीनमा थियौँ।
कक्षा तीनको वार्षिक परीक्षा सकियो। नतिजा आयो। बाटुली फेरि प्रथम भइन्। म दोस्रो। 

पहिले त म दोस्रो हुँदा दुःख लाग्थ्यो। त्यो दिन भने लागेन। बरु उनको सफलतामा मलाई आफ्नै जितजस्तै खुसी लागेको थियो। किनकि उनको संगतले नै मेरो जीवनको दिशा बदल्न थालेको थियो। बाटुली मेधावी थिइन्। प्रथम हुने हकदार ऊ नै थिई।
त्यो दिन घरमा बुबाले भन्नुभयो, 'यसपालि त धेरै राम्रो गरेछस्।'
म मुस्कुराएँ। तर मनमनै भनिरहेको थिएँ,  'यो मेरो होइन, बाटुलीको नतिजा हो।' बाटुली नै थिइन् मेरो गुरू। उनको पदचाप पछ्याउन थालेपछि म पनि कक्षाको मेधावी विद्यार्थी भएको मलाई मात्र    थाहा थियो। बाटुलीले त जहिल्यै पढ्ने कुरा मात्रै गर्थिन्।

कक्षा चारमा पुग्दा हाम्रो पढाइ झन् प्रतिस्पर्धात्मक बन्दै गयो। शिक्षकहरूले उदाहरण दिँदा प्रायः हाम्रो नामै लिनुहुन्थ्यो।
'पहिलो बन्ने हो भने बाटुली जस्तो बन।'
'मेहनत गर्ने हो भने रविजस्तो गर।'

तर हामीलाई एकअर्कालाई जित्नु थिएन। हामीलाई त सँगै अघि बढ्नु थियो। त्यसैले त हामी असल मित्र थियौँ। मैले पढाइ सुधार्न उनको भर परेजस्तै उनलाई स्कुलको बाटो हिँड्न मेरो साथ चाहिन्थो। 

विद्यालयबाट फर्कंदा कहिलेकाहीँ हामी खोलाको किनारमा केहीबेर बस्थ्यौँ। झोलाबाट कापी निकालेर गृहकार्य हेर्थ्यौँ। उनी मेरा अक्षर सच्याइदिन्थिन्। म उनको गणितका हिसाब फेरि जाँचिदिन्थेँ। त्यसपछि हाँस्दै-हाँस्दै आ-आफ्नो गाउँतिर लाग्थ्यौँ।

त्यो उमेरमा हामीले भविष्यका ठूला सपना देखेका थिएनौँ।
हामीलाई भोलि पनि सँगै विद्यालय जान पाइयोस्, त्यही नै पर्याप्त थियो। बिचामा शनिवार र अन्य बिदाका दिन नआइदिए हुन्थ्यो भन्ने लाग्थ्यो।
तर परिस्थितिले हामीसँग अनुमति कहाँ माग्थ्यो र!
कक्षा पाँचपछि अर्को विद्यालयमा भर्ना हुनुपर्ने भयो।

नयाँ विद्यालय गाउँभन्दा टाढा थियो। त्यहाँ विद्यार्थी धेरै थिए। भवन ठूलो थियो। अनुशासन कडा थियो। सबै कुरा नयाँ थियो।
नयाँ विद्यालयमा प्रवेश गरेको पहिलो दिन मैले सबैभन्दा पहिले बाटुलीलाई खोजेँ।
उनी विद्यार्थीको भिडमा थिइनन्।
अर्थात् अब उनी मसँग एउटै कक्षामा थिइनन्।
उनी अन्नपूर्ण सदनमा परिन्। म अपि सदनमा।

विद्यालय एउटै थियो, तर हाम्रो दिनचर्या अलग भइसकेको थियो।
पहिले एउटै बेन्चमा बस्ने हामी अब फरक कक्षाकोठामा पढ्न थालेका थियौँ।
पहिले एउटै गोरेटोमा हिँड्ने हामी अब फरक समूहसँग विद्यालय आउन-जान थाल्यौँ।
पहिले दिनमा दर्जनौँ पटक भेट हुने हामी अब कहिलेकाहीँ मात्रै देखिन्थ्यौँ।
यो दूरी धेरै थिएन।

तर मनका लागि त्यो दूरी असह्य थियो।
नयाँ विद्यालयको पहिलो महिना मेरा लागि निकै कठिन बन्यो।
कक्षामा साथी थिए, तर साथीपन थिएन।
हल्ला थियो, तर आफ्नोपन थिएन।

मध्याह्नको विश्राममा म प्रायः मैदानको एउटा कुनामा उभिएर अन्नपूर्ण सदनतिर हेर्थेँ।
कतै बाटुली देखिन्छिन् कि भनेर।
कहिलेकाहीँ उनी टाढाबाट देखिन्थिन्।
हाम्रो आँखा जुध्थ्यो।
दुवै मुस्कुराउँथ्यौँ।

तर त्यो मुस्कान अब बाल्यकालको जस्तो निसंकोच थिएन।
त्यसमा एउटा अनौठो संकोच मिसिएको थियो, जसको अर्थ हामी दुवैले बुझ्न सकेका थिएनौँ।
सायद किशोरावस्था यस्तै हुँदो रहेछ।
जहाँ शब्दभन्दा मौनता बढी बोल्न थाल्छ।
जहाँ मित्रता विस्तारै कुनै नयाँ, अपरिचित भावनामा रूपान्तरण हुन थाल्छ।
छ महिनापछि अर्धवार्षिक परीक्षा भयो।
नतिजा आयो।
म चार विषयमा अनुत्तीर्ण भएँ।

मार्कसिट हातमा लिँदा मलाई आफ्नै आँखामाथि विश्वास लागेन। केही क्षणसम्म म स्तब्ध भएर उभिइरहेँ।
त्यही दिन थाहा पाएँ, बाटुली फेरि प्रथम भएकी रहिछिन्।
उनको सफलताले पहिलेजस्तो गर्व होइन, यसपालि एउटा पीडादायी चसक्क महसुस गरायो।
पहिलोपटक मैले आफ्नी सबैभन्दा प्रिय साथीप्रति ईर्ष्या महसुस गरेँ।
तर त्यो ईर्ष्या उनीप्रति होइन।
आफ्नै कमजोरीप्रति थियो।

त्यो रात मैले धेरै बेरसम्म निदाउन सकिनँ।
बारम्बार एउटा प्रश्नले मन पोलिरह्यो, 'बाटुली अघि बढिरहेकी छिन्... म किन पछाडि परेँ?'
सायद त्यही रात मेरो जीवनको अर्को यात्रा सुरु भयो।
प्रतिस्पर्धा अब अरूसँग थिएन।
आफ्नै असफलतासँग थियो।
***
अर्धवार्षिक परीक्षाको नतिजाले मलाई भित्रैदेखि हल्लाइदिएको थियो।
त्यस दिनपछि मैले एउटा निर्णय गरेँ- अब म हार्ने छैन।
म फेरि किताबतिर फर्किएँ। रात अब निद्राका लागि होइन, पढाइका लागि हुन थाले। बिहान घामसँगै उठ्ने बानी बस्यो। परिणाम पनि बदलियो। वार्षिक परीक्षामा म फेरि दोस्रो स्थानमा उक्लिएँ।
नतिजा सुनेर बाटुलीले मुस्कुराउँदै भनिन्,
'मैले भनेकै थिएँ नि, तिमी हार मान्ने मान्छे होइनौ।'
उनको त्यो एउटा वाक्यले मलाई पुरस्कारभन्दा ठूलो सम्मान दिएको थियो।

समय फेरि अघि बढ्यो।
कक्षा सातमा पुग्दासम्म हामी दुवै धेरै बदलिएका थियौँ।
बाटुलीको उचाइ बढेको थियो। अनुहारमा बाल्यकालको गोलोपन घटेर किशोरीको कोमलता झल्किन थालेको थियो। उनी पहिलेभन्दा कम बोल्न थालेकी थिइन्। स्कुलमा भेट हुँदा मुस्कुराएर के छ खबर भनेर सोध्ने गर्थिन्, तर पहिलेझैँ लामा कुराकानी अब हुँदैनथे।
म पनि बदलिएको थिएँ।

उनलाई देख्नेबित्तिकै मनमा अनौठो कम्पन उठ्थ्यो। पहिले सहजै 'बाटुली!' भनेर बोलाउने जिब्रो अब अड्किन्थ्यो। आँखा जुधेपछि नजर आफैँ झुक्थ्यो।
सायद उमेरले हामीलाई आफूभन्दा पनि लजाउन सिकाइरहेको थियो।

तर विद्यालयबाहिर भने हाम्रो संसार अझै जीवित थियो।
बर्खे बिदा र दसैँको छुट्टी लागेपछि हामी दुवै गाईबाख्रा चराउन एउटै वनमा पुग्थ्यौँ।
त्यो वन हाम्रो बाल्यकालको साक्षी थियो।
उत्तिसका रूखहरू उस्तै थिए। गुँरासको बुट्यान र काफलका रुख अनि खोलाको पानी उस्तै सङ्लो थियो। हावामा उड्ने सुगन्ध पनि उस्तै थियो। फेरिएका थियौँ भने केवल हामी।

बाटुली प्रायः हातमा एउटा किताब बोकेर आउँथिन्।
गाईहरू चरिरहेका हुन्थे। अरू साथीहरू खेलिरहेका हुन्थे। उनी भने कुनै रूखको छहारीमा बसेर किताब पढ्न थाल्थिन्।
म टाढाबाट हेर्थेँ।
किताबमा डुबेको उनको अनुहारमा एक किसिमको शान्ति देखिन्थ्यो।
म नजिक पुग्नेबित्तिकै उनी मुस्कुराउँदै किताब बन्द गर्थिन्।
'आज के पढ्दै थियौ?'  म सोध्थेँ।
'तिमी आएपछि किताब पढेर के गर्नु?' उनी हल्का मुस्कुराउँदै भन्थिन्।

त्यसपछि घण्टौँ हाम्रो कुरा चल्थ्यो।
कहिले पढाइका बारेमा।
कहिले शिक्षकहरूका बारेमा।
कहिले भविष्यका सपनाबारे।
कहिले कुनै साथीको बारेमा।
कुराकानीको बीचमा धेरैपटक मौनता आउँथ्यो।
तर त्यो मौनता असहज थिएन।
बरु शब्दभन्दा धेरै अर्थपूर्ण थियो।

आज सम्झँदा लाग्छ, हामी त्यतिबेला प्रेम व्यक्त गरिरहेका थिएनौँ।
हामी प्रेममा बाँचिरहेका थियौँ।
कुनै स्वीकारोक्ति थिएन।
कुनै प्रस्ताव थिएन।
कुनै वाचा थिएन।
तैपनि मनले एकअर्कालाई आफ्नो मान्न थालिसकेको थियो।

जीवनका सबैभन्दा सुन्दर सम्बन्धहरू सायद त्यही हुन्, जसलाई नाम दिन हतार हुँदैन।
तर सुखका दिन धेरै टिक्दैनन्।

कक्षा सातको परीक्षा सकिएको केही दिनपछि बाटुलीले मलाई वनमै एउटा खबर सुनाइन्।
'हामी महेन्द्रनगर बसाइँ सर्दैछौँ।'
मैले उनको अनुहारतिर हेरेँ।
उनी मुस्कुराउने प्रयास गरिरहेकी थिइन्, तर आँखाले उनको मन लुकाउन सकेको थिएन।
मेरो मुखबाट शब्द नै निस्केन। वनमा अचानक असाध्यै ठूलो सन्नाटा छाएजस्तो लाग्यो।

केही दिनपछि म उनलाई बिदाइ गर्न उनको घर पुगेँ।
घरभरि सामान बाँधिएको थियो।
आँगनमा बाकसहरू थिए।
बाहिर गाडी तयार थियो।

उनी आफ्नी आमासँगै रोइरहेकी थिइन्।
गाउँ छोड्नुको पीडा उनका आँखाबाट छचल्किरहेको थियो।
मलाई देख्नेबित्तिकै उनी दौडेर आइन्।
केही क्षण केही बोलिनन्।
अचानक मलाई अँगालो हालिन्।
त्यो हाम्रो जीवनको पहिलो अँगालो थियो।
सायद अन्तिम पनि।

आँसुका बीच उनले यति मात्रै भनिन्, रवि... मलाई नबिर्स है।'
मैले बोल्न खोजेँ।
तर घाँटीमा अड्किएको पीडाले शब्द बन्न मानेन।
गाडी बिस्तारै अगाडि बढ्यो।
झ्यालबाट उनले हात हल्लाइरहेकी थिइन्।
म पनि हात हल्लाइरहेँ।
गाडी आँखाबाट ओझेल भयो।

त्यो दिन केवल एउटा परिवार गाउँबाट गएन।
मेरो बाल्यकाल पनि त्यही गाडीसँगै गाउँ छोडेर गयो, मलाई मान्छेको भिडमा एक्लै छोडेर... क्रमशः...

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस