कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेला समिति घोषणा
काठमाडौं: नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको छ।
शनिबार काठमाडौंको चाक्सीबारीस्थित सम्पर्क कार्यालय चूनदेवीमा आयोजित पत्रकार सम्मेलनमा समितिको घोषणा गरिएको हो। मूल आयोजक समितिसँगै भेला व्यवस्थापनका लागि १६ वटा विभिन्न उपसमितिसमेत गठन गरिएको संयोजक डा. कोइरालाले जानकारी दिए।
उनका अनुसार पार्टीलाई वैचारिक, नीतिगत र संगठनात्मक रूपमा थप सबल, सक्षम र स्पष्ट कार्यदिशासहित अघि बढाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो। भेलामा पार्टीभित्रको वर्तमान अवस्था, मुलुकको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक विषयका साथै नागरिक जीवनसँग सम्बन्धित समसामयिक मुद्दामाथि गहन छलफल गरिने उनले बताए।
डा. कोइरालाले पार्टीभित्र एकता कायम गर्न निरन्तर प्रयास, धैर्यता र पहल गर्दागर्दै पनि नेतृत्व तहबाट अपेक्षित भूमिका नदेखिएपछि नेता, कार्यकर्ता, जनप्रतिनिधि र शुभेच्छुकमा बढ्दो चिन्ता तथा निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्नुपरेको उल्लेख गरे।
उनले लोकतान्त्रिक संविधानमाथि चुनौती बढ्दै गएको, धार्मिक तथा साम्प्रदायिक तनावका घटना बढिरहेको भन्दै राष्ट्रिय एकताको आवश्यकता औँल्याए। साथै, सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाका घाइतेको प्रभावकारी उपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे।
संस्थापन इतर समूहले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न पार्टीभित्रको एकतासँगै राष्ट्रिय राजनीतिक शक्तिबीच सहमति र सहकार्य अपरिहार्य रहेको जनाएको छ।
कांग्रेस संस्थापन इतर समूहले यसअघि नै साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिसकेको छ। उक्त भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व पदाधिकारी तथा अन्य नेता–कार्यकर्तालाई सहभागी हुन आह्वान गरिएको छ।