सुदूरपश्चिम विश्वविद्यालयमा शैक्षिक प्रशासन र कृत्रिम बुद्धिमत्तासम्बन्धी दुईदिने कार्यशाला सुरु
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक प्रशासन तथा व्यवस्थापनलाई आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले दुईदिने कार्यशाला गोष्ठी आयोजना गरेको छ।
विश्वविद्यालयले प्रशासनिक व्यवस्थापनमा सुधार तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी कार्यशाला आजदेखि सुरु गरेको हो।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर किसनदत्त भट्टको अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य एवं कृत्रिम बुद्धिमत्ता विज्ञ प्राध्यापक डाक्टर सुदन झाले गरेका थिए। कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर गोविन्दसिंह विष्ट विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यशालामा विश्वविद्यालयका आङ्गिक क्याम्पसका प्रमुख, विभाग प्रमुख, स्कुल प्रमुख तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको छ।
कार्यशालाको मुख्य उद्देश्य विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसको प्रशासनिक क्षमता अभिवृद्धि गर्नु, सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउनु तथा सुशासनलाई संस्थागत गर्नु रहेको विश्वविद्यालयले जनाएको छ।
त्यसैगरी, आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउने विषयमा समेत कार्यशालामा छलफल तथा प्रशिक्षण हुने जनाइएको छ।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालाले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनमा प्रविधिको प्रयोग बढाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताइएको छ।