सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउनको तेस्रो सोमबार,सुदूरपश्चिमका मन्दिरमा पनि विशेष पूजा–आराधना

२०८३ साउन १८, १२:१७ लक्ष्मण ढुङ्गाल

धनगढी: साउन महिनाको तेस्रो सोमबारका अवसरमा देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको छ। भगवान शिवको पूजा–आराधना गर्दै हिन्दु धर्मावलम्बीहरूले व्रत बसेर साउन सोमबार श्रद्धा र भक्तिभावका साथ मनाएका छन्।

हिन्दु धर्मअनुसार साउन महिना भगवान शिवको सबैभन्दा प्रिय महिना मानिन्छ। यही विश्वासका आधारमा प्रत्येक सोमबार विशेष रूपमा शिवपूजा गर्ने, व्रत बस्ने र शिवालयमा पुगेर जल, दूध, बेलपत्र, धतुरो, फूल तथा फलफूल चढाई पूजा गर्ने परम्परा रहिआएको छ। वर्षौँदेखि चल्दै आएको यो धार्मिक परम्परा अहिले पनि उत्तिकै श्रद्धा र उत्साहका साथ मनाइँदै आएको छ।
साउन महिनामा महिलामात्र नभई पुरुषहरू पनि व्रत बसेर शिवको आराधनामा सहभागी हुने गरेका छन्। विवाहित महिलाले परिवारको सुख, शान्ति, समृद्धि, दीर्घायु र कल्याणको कामना गर्दै व्रत बस्ने गर्छन् भने अविवाहित युवतीहरूले भगवान शिवजस्तै असल र योग्य जीवनसाथी प्राप्त होस् भन्ने विश्वासका साथ सोमबारको व्रत गर्ने परम्परा रहेको छ।
साउनलाई हरियालीको महिना पनि मानिने भएकाले महिलाहरू हरियो साडी, कुर्ता तथा अन्य पहिरन लगाउने, हरियो चुरा, पोते र मेहेन्दीले सजिने परम्परा छ। यसले धार्मिक आस्थासँगै नेपाली समाजको सांस्कृतिक पहिचानलाई पनि झल्काउने गरेको छ।

सुदूरपश्चिम प्रदेशमा पनि साउन महिनाको विशेष धार्मिक महत्व रहेको छ। धनगढीस्थित शिवपुरीधाम, बेहडाबाबा धाम, शिवनगरमव रहेको शिव मन्दिरलगायत विभिन्न शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। दर्शनका लागि लामबद्ध भक्तजनहरूले शिवलिङ्गमा जल, दूध र बेलपत्र अर्पण गर्दै परिवार तथा समाजको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए।
मन्दिर परिसरमा बिहानैदेखि धार्मिक भजन–कीर्तन, शिव स्तुति तथा आरती सञ्चालन गरिएको थियो। विभिन्न उमेर समूहका भक्तजनहरू परम्परागत वेशभूषामा सजिएर शिवालय पुगेका थिए। कतिपयले निर्जल व्रत बसेका थिए भने धेरैले दिनभर फलाहार गरेर शिवको आराधना गरेका थिए।

धार्मिक विश्वासअनुसार साउन महिनामा भगवान शिवको पूजा–आराधना गर्दा मनोकामना पूरा हुने, परिवारमा सुख–शान्ति कायम हुने तथा जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुने जनविश्वास रहिआएको छ। यही विश्वासका कारण हरेक वर्ष साउन सोमबारमा शिवालयहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ।
यस वर्ष साउन महिनामा चार वटा सोमबार परेका छन्। आज तेस्रो सोमबारका अवसरमा देशभरका शिवालयमा विशेष पूजा सम्पन्न भएको छ भने आगामी सोमबार अन्तिम साउन सोमबारका रूपमा अझ भव्य रूपमा पूजा–आराधना गरिने भक्तजनहरूले बताएका छन्।

धार्मिक आस्था, संस्कृति र परम्पराको संरक्षणमा साउन सोमबारले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। आधुनिक जीवनशैलीका बीच पनि साउन सोमबारको महत्व र यसको धार्मिक आकर्षणमा कुनै कमी नआएको देखिन्छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस